काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा हालसम्म ५८ जनाले आ–आफ्नो धारणा राखेका छन् । भने बाँकी ७७ जनाले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे कुरा उठाएका छन् ।
बैठकको ब्रेकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अधिकांश केन्द्रीय सदस्यहरुले भण्डारीको विषयमा धारणा राखेको बताए । साथै धेरैले संविधानमा राष्ट्रपतिको प्रावधानका विषयमा कुरा उठाएको समेत बताए ।
‘पूर्व राष्ट्रपति राजनीतिमा आउने कुरा र सदस्यता नविकरण गर्ने कुरामा अधिकांश सदस्यहरुले त्यसमा जिज्ञासा राखेका छन् । नेपालको संविधानको भाग–६ र धारा–६१ मा राष्ट्रपतिको व्यवस्था गरिएको छ । धारा–६१ को २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने छ भन्ने कुरा सुनिश्चित गरिएको छ । ६१ को ३ मा राष्ट्रिय एकताको प्रतीक हुने छ भनिएको छ । धारा–६१ को ४ मा संविधानको पालक र संरक्षक हुने व्यवस्था गरिएको छ,’ गौतमले भने, ‘यस हिसाबले राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर संविधानमा उल्लेख छ । यसका अतिरिक्त संविधानको भाग–२८ धारा २६७ को २ मा राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ भनिएको विषयलाई आधार मान्दै अधिकांश केन्द्रीय सदस्यले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय प्राविधिक विषय होइन र यो पार्टी विशेषको विषय होइन । यो महत्वपूर्ण राजनीतिक विषय हो ।’
त्यस्तै सबै केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि अध्यक्ष केपी शर्मा ओलीले अन्तिममा पूर्वराष्ट्रपति राजनीतिमा आउँन हुन्छ वा हुन्न भन्ने विषयमा केही निर्णय गर्न सक्ने बताए । साथै सिंगो केन्द्रीय कमिटी नै उक्त निर्णयको पर्खाइमा रहेको बताउँदै आज केही महत्वपूर्ण निर्णय हुन सक्ने उनको दाबी छ ।
‘अध्यक्षज्यूले बैठकको कन्क्लुज गर्ने क्रममा केही महत्वपूर्ण निर्णय पनि हामीले लिनेछौँ त्यो बेला निष्कर्षमा हामी कुनै न कुनै बेला पुग्छौँ भन्ने विश्वास छ,’ उनले भने ।
त्यस्तै गौतमले भण्डारीको सदस्यता नविकरण प्राविधिक र राजनीतिक कुरा भएको समेत बताए ।
सोमबारबाट जारी एमाले बैठक आज समापन गर्ने तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया