कांग्रेस ‘कुलिङ पिरियड’मा अडिग : प्रवक्ता महत भन्छन्- ‘कम्परमाइज हुँदैन’

लोकपथ
294
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघीय निजामति सेवा विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ को विषयमा कांग्रेसले कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

काठमाडौंमा आयोजित बीपी स्मृति दिवस कार्यक्रममा बोल्दै उनले उक्त विधेयकबारे राज्य व्यवस्था समितिबाट सर्वसम्मत ढंगले प्रस्तावित दुई वर्षे कुलिङ पिरियड संसदबाट हटाइनु उचित नभएको बताए ।

उनले भने, ‘कुलिङ पिरियडको बारेमा कुरा छ, यो समितिबाट सर्वसम्मत रूपमा अघि बढेको हो । यसमा कांग्रेसले कम्परमाइज गर्न सक्दैन, कुलिङ पिरियड लागू हुनैपर्छ ।’

हाल उक्त विधेयक राष्ट्रिय सभामा पुगेको छ, जहाँ नेकपा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन दर्ता गराएका छन् । तर कांग्रेस भने अडिग रहने नेताहरूको भनाइ छ ।

प्रवक्ता महतले भूमिसम्बन्धी विधेयकजस्ता महत्त्वपूर्ण विधेयकहरूमा समग्र छलफल बिना एकलौटी निर्णय लाद्ने प्रवृत्ति अस्वीकार्य रहेको भन्दै गठबन्धन सरकारले सन्तुलित ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले पार्टीका तर्फबाट व्यक्तिप्रति होइन, योग्यता र पेसागत क्षमतामा आधारित नियुक्ति हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्रीलाई त्यसतर्फ संवेदनशील हुन आग्रह गरे ।

त्यस्तै, हाल झुटो बोल्नेहरू नै सत्यको प्रतिनिधि झैँ देखिन थालेको भन्दै महतले नेपाली कांग्रेस सधैँ सत्य र तथ्यको पक्षमा रहेको दाबी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?