नेपाल समाजवादी पार्टीले ५ महिने ‘प्रशंसा अभियान’ चलाउने

लोकपथ
70
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ ।

यसअघि तीन महिनासम्म सञ्चालन गरिएको अभियान प्रभावकारी भएको भन्दै दोस्रो चरणको अभियान सुरु गर्न लागिएको पार्टीले जनाएको छ ।

पार्टीका महासचिव सोनाम सिंह स्याङतानका अनुसार, नयाँ अभियान प्रशिक्षण, संगठन सुदृढीकरण र सामाजिक परिचालनमा केन्द्रित हुनेछ । उनले भने, ‘प्रशंसा अभियान भनेको जनताको मुद्दा उठाउने, शासनमा देखिएका समस्या र भ्रष्टाचारविरुद्धको अभियान हो ।’

स्याङतानले पाँच महिने अभियानले पार्टीको आन्तरिक संगठन सुदृढिकरण, कार्यकर्ता विस्तार र आगामी निर्वाचनका एजेन्डा तयार पार्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले थपे, ‘तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ । अहिले हामी दोस्रो चरणमा प्रवेश गरेका छौँ ।’

०८४ को निर्वाचन आउन करिब डेढ वर्ष बाँकी रहेकाले त्यसलाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको उनले बताए । ‘पार्टीको आन्तरिक संगठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर हामी अघि बढिरहेका छौँ, ‘स्याङतानले भने ।

नेपाल समाजवादी पार्टीले यस अभियानलाई पार्टी बलियो बनाउने अवसरका रूपमा लिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?