काठमाडौं । नेपाली कांग्रेसका सांसद ईन्जिनियर मोहन आचार्यले रसुवा बाढीबाट सरकारले पाठ सिकेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै रसुवाका संघीय सांसद समेत रहेका आचार्यले सो कुरा बताएका हुन् ।
त्यस्तै उनले रसुवा जस्ता हिमाली क्षेत्रहरुमा हुने विकास निर्माणका काममा त्यहाँ बनाइने भौतिक संरचनाहरु ‘प्रकृतिमैत्री’ बनाउन सुझाव समेत दिए । रसुवामा भूमीको अभावका कारण नदी किनारमा नै संरचनाहरु बनाउनुपर्ने तर बाढीका कारण त्यो जोखिममा पर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘टिमुरे क्षेत्रमा हिमाली क्षेत्र भएका कारणले गर्दा ल्याण्ड कन्स्टेन छ नै । त्यहाँ हामीले कतिपय जग्गाको अभावका कारणले नदी क्षेत्रहरुमा भौतिक संरचनाहरु बनायौँ । फलस्वरुप आजको अवस्था भोग्नुपरेको छ,’ सांसद आचार्यले भने, ‘म के भन्न चाहन्छु भने त्यहाँ रसुवागढी डाइपोर्ट त्यहाँ बनिरहेको छ र अन्तिम अवस्थामा पुगेको थियो । तर त्यो बाढीले गर्दा धेरै नै क्षति पुगेको छ । म के अनुरोध गर्न चाहन्छु भने हाम्रा पहाडी हिमाली क्षेत्रहरुमा ल्याण्ड कन्स्टेनहरु छ नै, तर त्यस्ता ठाउँहरुमा प्राकृतिक प्रकोपहरु आउँछन् भन्ने ख्याल गरेनौँ । त्यसलाई पूर्वानुमान गरेर त्यहाँ बन्ने भौतिक संरचनाहरु त्यहाँको भूगोल अनुसार फ्रेण्डली खालका बनाउनुपर्ने थियो । त्यहाँ हामी चुक्यौँ भन्ने लाग्छ । साथै पुननिर्माणका क्रममा यस्ता निकायहरुलाई ख्याल गरेर गरियोस् भन्ने ध्यानाकर्षण गराउँदछु ।’
यसैगरी उनले प्राकृतिक विपत्तिको पूर्वसूचना पाउँदा समेत तत्काल उद्धार हुन नसक्ने अवस्थाबारे सरकारको ध्यानाकर्षण गराए । ‘एयर रेस्क्यू’ को लागि विभिन्न कानुनी झण्झटहरुलाई हटाउँदै तत्काल उद्धार गर्न सकिने अवस्था सिर्जना गर्नुपर्ने उनले बताए ।
‘नेपाल जस्तो भूगोल भएको स्थानमा प्राकृतिक प्रकोपहरु आउँछन् नै । तर हामीले ध्यान दिनुपर्ने कुराहरुमा ‘एयर रेस्क्यू’ को कुरामा हामीले गम्भीर रुपमा ध्यान दिनुपर्ने हुन्छ । कतिपय कुराहरु हाम्रो कानुनी अड्चनहरु होलान् । लेन्दी प्रोससले गर्दा हामीले जुन ढंगले रेस्क्यू गर्नुपर्ने अवस्था थियो, तर हामीले त्यो गर्न सकेको अवस्था छैन,’ गत वर्षको ललितपुरको नख्खुमा भएको घटनाबारे स्मरण गराउँदै उनले भने ।
गत असार २४ गते राति नेपाल–चीन सीमानामा पर्ने ल्हेन्दे ओलामा आएको बाढीपछि सांसद आचार्य निरन्तर सो क्षेत्रमा उद्धार र राहतमा जुटे । त्यहाँको वास्तविक अवस्था देखेर आएका सांसद आचार्यले त्यहाँको क्षतिबारे समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘भन्सार जाँचपासका लागि राखिएका ४२ वटा इलेक्ट्रिकल सवारीसाधन, कार्गोसहितको २३ वटा कन्टेनर ट्रक, स्काभेटर लगायतका निर्माण सामग्रीहरु बगाएका छन्,’ उनले भने ।
त्यस्तै बाढीका कारण नेपालमा २० जना अझै बेपत्ता रहेको र चीनमा ११ जना बेपत्ता भएको बताए । साथै हालसम्म ११ जनाको शव फेला परेकोमा २ जनाको मात्रै सनाखत हुन सकेको उनले बताए । त्यसमध्ये २ जनाको मात्र सनाखत हुन सकेको बताए ।
वार्षिक ३० अर्बभन्दा बढी राजस्व संकलन गर्ने रसुवागढी भन्सार नाकामा बाढीले पुर्याएको क्षतिका कारण अर्थतन्त्रमा नै असर पर्ने भन्दै सरकारले त्यसलाई छिट्टो सुचारु गर्ने तयारीमा लाग्नुपर्ने बताए । रसुवा बाढी र त्यसबाट भएको क्षतिबारे अवलोकन गर्न प्रधानमन्त्री, मन्त्रीदेखि सुरक्षा निकायका पदाधिकारीहरुले चासो देखाएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया