संसदमा सुमना : ‘स्पेन प्रकरण पुष्टि भयो’, सरकारलाई सम्झाइन् त्यो प्रतिवेदन

लोकपथ
1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन प्रकरणबारे स्पष्टिकरण माग गरेकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले उक्त प्रकरणले मानव तस्करीमा राजनीतिक संरक्षण रहेको गम्भीर संकेत दिएको आरोप लगाइन् ।

श्रेष्ठले प्रधानमन्त्री ओलीको सहभागितामा स्पेनमा आयोजित कार्यक्रममा सहभागी हुन गएका केही नेपाली नफर्किएको विषयमा सदनमा उठाउँदै प्रश्न गरिन् । उनले भनिन्, ‘सदनमा उठाउँदै आएको विषय स्पेनको केसले झन पुष्टि गरेको छ । सबैभन्दा दुःखको कुरा तस्करहरू न डराउँछन्, न लजाउँछन् । कसको संरक्षण र अकर्मण्यताले गर्दा यत्रो आँट पलायो ?’

श्रेष्ठले २०७८ साल फागुनमा बनेको भिजिट भिसा सम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति आपत्ति जनाउँदै उक्त प्रतिवेदन हाल गृह मन्त्रालयको कुन कुनामा थन्किएको हो भनी प्रश्न गरिन् ।

‘पक्कै पनि २०७८ फागुनमा बनेको भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरूको सिफारिस गर्न गठित अध्ययन प्रतिवेदन अहिले गृह मन्त्रालयको कुन दुलोमा धुलो बटुलेर बसेको छ ?’ भन्दै उनले सरकारको निष्क्रियता र अपारदर्शितामाथि प्रश्न उठाइन् ।

श्रेष्ठले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै भनिन्, ‘फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हाल्ने प्रयास गर्दैछ ?’

उनले प्रधानमन्त्री ओली सुशासन आयोगका अध्यक्षसमेत रहेको प्रसंग उठाउँदै प्रश्न गरिन्, ‘तस्कर र भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौँ । तपाईंलाई थाहा थियो कि थिएन ?’

सांसद श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसम्बन्धी विवाद र संघीय मामिलामन्त्रीको अडियो प्रकरणको पनि निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् ।

उनको भनाइमा संसदको गरिमा ‘निलो रिबन’ भन्दा यस्ता गम्भीर विषयमा खोजिनुपर्ने आवश्यकता औँल्याइएको थियो ।

यो प्रकरणले सरकारको नीति, भिसा प्रक्रियाको पारदर्शिता, र विदेश जाने नेपाली नागरिकहरूको सुरक्षा सम्बन्धी गम्भीर प्रश्न उठाएको श्रेष्ठको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?