काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा सर्भर डाउन गराएर घुसको डिल गरिने गरेको गम्भीर आरोप लगाउँदै सो विषयमा तत्काल छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रिजालले केही अनलाइन सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको समाचारको हवाला दिँदै सर्भर डाउनको बहानामा अनलाइन प्रणाली बन्द गरेर घुस लिने प्रथाले सुशासनमाथि नै प्रश्न उठेको बताए ।
उनले भने, ‘कम्पनी दर्ता गर्न घुस खुवाउनुपर्ने भएपछि युवाले व्यवसाय कसरी गर्छन् ? प्रधानमन्त्रीज्यूले आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गर्नु भएको छ, तर सिंहदरबारदेखि एक किलोमिटर टाढा रहेको कम्पनी रजिष्ट्रारको कार्यालयमै सर्भर डाउनको नाममा सरकारको सुशासन र सिस्टम दुवै डाउन भएको देखिन्छ ।’
सांसद रिजालले सर्भर डाउन गराएर कम्पनी नविकरण तथा दर्ताका क्रममा निश्चित प्रतिशतमा कमिसन असुली भइरहेको समाचार निरन्तर आइरहेको भन्दै गम्भीर सरोकार व्यक्त गरे । उनले भ्रष्टाचारको यस्तो अभ्यासले व्यवसायी युवा वर्गमा निराशा फैलाउने र देशको उद्यमशीलता क्षमतामा बाधा पुर्याउने चेतावनीसमेत दिए ।
‘कम्पनी रजिष्ट्रारको कार्यालयमा दिइने सेवा प्रभावकारी बनाउने भन्दै अनलाइन प्रणाली लागू गरिएको हो, तर अहिले त्यो नै घुस असुलीको माध्यम बनाइएको छ,’उनले भने, ‘म यसबारे सत्यतथ्य छानविन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्माननीय अध्यक्षज्यूमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’
उनले सरकारबाट तत्काल छानविन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया