एसीसी यू–१६ विजेता सुशील रावलको पीडा : ‘खादा होइन, आर्थिक सहयोग चाहिएको छ’

लोकपथ
616
Shares

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका युवा क्रिकेटर सुशील रावलले आफूलाई खादा र प्रमाणपत्रभन्दा आर्थिक सहयोगको खाँचो रहेको बताएका छन् ।

प्रतियोगितामा सफल भई स्वदेश फर्किएको नेपाली टोलीलाई विभिन्न संघसंस्थाले सम्मान गरिरहेका बेला, बझाङबाट छनोट भएर खेलेका रावलले सामाजिक सञ्जालमार्फत भावुक अपिल गरेका हुन् ।

‘बझाङबाट छनौट भएर खेले पनि मेरो दैनिकी बसोबास कञ्चनपुरको शुक्लाफाँटा–५ गर्जमुनिमा छ । अहिले मलाई खादा र प्रमाणपत्र होइन, आर्थिक सहयोगको एकदम जरुरी छ,’उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

रावलका अनुसार २–३ महिनाभित्र यू–१९ राष्ट्रिय टोलीका लागि छनोट हुने प्रक्रिया सुरु हुँदैछ, जसको तयारीका लागि भारतमा तालिम गर्न जानुपर्ने छ। उक्त तालिममा झण्डै १ लाख रुपैयाँ खर्च लाग्ने उनले उल्लेख गरेका छन् ।

‘आर्थिक अवस्था कमजोर छ। यो कुरा भन्नु गाह्रो लाग्छ। तर यो आवश्यक छ। त्यसैले कृपया मलाई खादा, माला र प्रमाणपत्रभन्दा बढी आर्थिक सहयोग दिनुहोला,’ उनले अपिल गरेका छन् ।

सुशीलको यो भावुक अपीलले प्रतिभाशाली तर पिछडिएको पृष्ठभूमिका खेलाडीहरूलाई राज्य र समाजले कस्तो प्रकारले साथ दिनुपर्छ भन्ने विषयमा गम्भीर सोच पुर्‍याएको छ । अहिलेको सफलताको मूल आधार भविष्यमा निरन्तरता दिन आवश्यक स्रोत र सुविधामा पनि ध्यान दिन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?