मुद्दा फर्स्यौटमा उच्च अदालत पाटनको छलाङ, २ वर्ष कटेका मुद्दा शून्यमा झर्‍यो

काठमाडौं । उच्च अदालत पाटनले मुद्दा फर्स्यौटमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । अदालतले पहिलो पटक २ वर्ष पुराना मुद्दा शून्यमा झारेको छ ।

बिहीबार उच्च अदालत पाटनले आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै न्यून क्षमतामा काम गर्दा पनि लक्ष्य अनुसारको प्रगति हासिल गरेको र २ वर्ष पुरानो मुद्दा शून्यमा झारेको जानकारी दिएको हो ।

उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलले यस आर्थिक वर्षमा २ वर्ष कटेका मुद्दा शून्यमा झार्नुका साथै लक्ष्यको शत प्रतिशत प्रगतिको नजिक रहेको जानकारी दिएका छन् । रजिस्ट्रार पौडेलले यो उपलब्धि उच्च अदालत पाटनको इतिहासमै ऐतिहासिक रहेको र १८ महिना कटेका मुद्दा पनि १८ थानमा सीमित गराएको बताए ।

उच्च अदालत पाटनमा यस आर्थिक वर्षको लगतमा कुल १७ हजार ७ थान मुद्दा रहेकामा असार २५ गतेसम्मको अवधिमा ११ हजार २३४ थान मुद्दा फर्स्यौट भइसकेको छ । कुल लगतको ६६ दशमलव शून्य प्रतिशत मुद्दा फर्स्यौट भइसकेको र अब केबल ५ हजार ७७३ थान मुद्दा मात्रै बाँकी रहेको रजिस्ट्रार पौडेलले जानकारी दिए ।

अदालतमा गत आर्थिक वर्षबाट सरेर आएको मुद्दाको सङ्ख्या ५ हजार १६२ थान थियो भने यस आर्थिक वर्षको असार २५ गतेसम्म ११ हजार ८४५ थान मुद्दा दर्ता भएको थियो । यस आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा १ हजार ७१८ थान अर्थात् १६ दशमलव ९६ प्रतिशत बढी मुद्दा दायर भएको थियो । यद्यपि अदालतले यो अवधिमा सीमित न्यायाधीशका बाबजुद पनि २ वर्ष कटेका मुद्दा शून्यमा झारेको छ भने १८ महिना कटेका मुद्दा पनि केवल १८ थानमा सीमित पारेको छ । अदालतले यस आर्थिक वर्षमा गत आर्थिक वर्षमा भन्दा १ हजार २३२ थान बढी मुद्दा फर्स्यौट गरिसकेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा यो सङ्ख्या अझै बढ्ने रजिस्ट्रार पौडेलले बताए ।

जिल्लामा नुवाकोट उत्कृष्ट, सिन्धुली कमजोर
उच्च अदालत पाटन मातहतका अदालतहरूमध्ये नुवाकोट जिल्ला अदालत मुद्दा फर्स्यौटका आधारमा उत्कृष्ट देखिएको छ । एक न्यायाधीशको दरबन्दी रहेको नुवाकोटमा गत वर्षबाट सरेर आएको २५५ थान र यस वर्ष दर्ता भएका ८२२ गरी कुल १ हजार ७७ थान मुद्दा रहेकामा ८४० थान मुद्दा फर्स्यौट भइसकेको छ । प्रतिशतका आधारमा यो कुल लगतको ७७ दशमलव ९९ प्रतिशत हो । नुवाकोटमा १८ महिना कटेका मुद्दा शून्यमा झारिएको छ ।

यता दुई न्यायाधीश रहेको सिन्धुली जिल्ला अदालत भने कमजोर देखिएको छ । सिन्धुलीमा गत वर्षबाट सरेर आएको ६५९ थान र यस वर्ष दर्ता भएका ८६३ गरी कुल १ हजार ५२२ थान मुद्दा रहेकामा जम्मा ८४२ अर्थात् ५० दशमलव १७ प्रतिशत मात्रै मुद्दा फर्स्यौट भएको छ । सिन्धुलीमा २ वर्ष कटेका मुद्दा ३० थान र १८ महिना कटेका मुद्दा ३२ थान रहेका छन् ।

कम न्यायाधीश हुँदा पनि उत्कृष्ट न्याय सम्पादन
उच्च अदालत पाटनमा कुल ३६ जना न्यायाधीशको दरबन्दी रहेको छ । ३६ जनाको दरबन्दी रहेको भए पनि अदालतले ३० जना न्यायाधीशले नियमित काम गर्ने अपेक्षा गरेको थियो । तर उच्च अदालत पाटनमा सर्वोच्च अदालतले केवल २२ न्यायाधीश मात्रै पठाएको छ । ३० जना न्यायाधीश रहने र प्रति न्यायाधीश ७५६ थान मुद्दा फर्स्यौट गर्ने लक्ष्य लिएकामा २२ न्यायाधीश मात्रै उपस्थित हुँदा लक्ष्य भेट्टाउन सकेको हो । अदालतमा अझै ६ कार्य दिन बाँकी रहेकाले शतप्रतिशत लक्ष्य भेट्टाउने अदालतले दाबी गरेको छ ।

उच्च अदालतमा सामान्यतः २ न्यायाधीशको इजलास गठन हुँदा एउटा मुद्दामा फैसला हुँदा दुवै न्यायाधीशको फैसलामा एक एक फैसला कायम हुन्छ ।

करिब ८८ प्रतिशत मुद्दा सदर
उच्च अदालत पाटन मातहतमा पुनरावेदनका रूपमा दर्ता हुने मुद्दाहरूमध्ये करिब ८८ प्रतिशत मुद्दा सुरु सदर भएको पाइएको छ । अदालतमा पुनरावेदनका रूपमा दायर भएका मुद्दामध्ये ८७ दशमलव ३६ प्रतिशत मुद्दामा सुरु अदालत वा प्राधिकरणकै मुद्दा सदर भएको छ भने १२ दशमलव ६४ प्रतिशत मुद्दा उल्टी भएको छ । त्यसै गरी रिटका रूपमा आएका मध्ये ५९ दशमलव ५८ प्रतिशतमा रिट खारेज भई अन्तिम आदेश भएको भ भने ४० दशमलव ४२ प्रतिशतमा रिट जारी भएको छ ।

त्यसै गरी उच्च अदालतमा दर्ता भएका अधिकांश रिटहरू ६ महिनाभित्रै फर्स्यौट गरिएको छ भने १ वर्ष कटेका कुनै पनि रिट बाँकी नरहेको अदालतले जनाएको छ । अदालतमा विकास निर्माण, कर, राजश्व लगायतका विषयसँग सम्बन्धित ६ महिना कटेका सबै मुद्दाहरू फर्स्यौट भइसकेका छन् ।

मुद्दा व्यवस्थापनलाई तीव्रता
उच्च अदालत पाटनले मुद्दा र पेसी व्यवस्थापनलाई तीव्रता दिएको बताएको छ । इजलासबाट आदेश भए अनुसारका कामकाज तत्काल गर्ने गरी योजना बनाएर काम गरेको र आदेश अनुसारको कार्य एक साताभित्रै सक्ने गरी काम भएको रजिस्ट्रार पौडेलले बताए । इजलासबाट आदेश भएका समय दिइएका बाहेक अन्य मुद्दाहरूको आदेश अनुसारको काम एक सातामै हुने गरेको र मुद्दा अंग चाँडै पुग्ने गरेको कारण फैसला पनि छिटो भएको पौडेलले बताए ।

मेलमिलापमा आशातीत सफलता मिलेन : मुख्य न्यायाधीश कुँवर
उच्च अदालत पाटनका मुख्य न्यायाधीश लाल बहादुर कुँवरले अदालतले शीघ्र फैसला गर्ने नीति लिएको र सम्भव भएसम्म मेलमिलापबाट मुद्दा टुङ्ग्याउने नीति लिएको भए पनि मेलमिलापमा आशातीत सफलता मिल्न नसकेको बताए । अदालतमा आइपुगेका मुद्दामध्ये करिब ५० प्रतिशत मुद्दालाई मेलमिलापमा पठाउने गरिएको भए पनि त्यहाँबाट निकै कम मुद्दामा मात्रै मेलमिलाप हुने गरेको बताए ।

काठमाडौं जिल्ला अदालतमा मुद्दा फर्स्यौटमा केही कमी देखिएको भए पनि मुद्दाको चापका आधारमा त्यहाँ भएको फर्स्यौटलाई सन्तोषजनक नै मानिएको बताए ।

उच्च अदालत पाटनमा न्यायाधीशको सङ्ख्या दरबन्दी अनुसार नभए पनि इजलासले समयमै काम सम्पन्न गरेको भन्दै सहकर्मी न्यायाधीश, कर्मचारी आदिलाई धन्यवाद दिँदै परिषद्ले थप न्यायाधीश पठाइदिएका ऐनले तोकेको अवधिभित्रै मुद्दा फर्स्यौट गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?