भोटेकोशीमा आएको बाढीले विस्थापित भएका ४ सय ८५ जनालाई सुरक्षित गन्तव्यतर्फ पठाइयो 

लोकपथ
497
Shares

काठमाडौं । असार २४ गते मध्यरात भोटेकोशीमा आएको बाढीका कारण पूर्णरुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाई ४ सय ८५ भन्दा बढीलाई सुरक्षितसाथ गन्तव्यतर्फ पुर्‍याएको छ । साथै भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र एउटा ईभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ । 

भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनमा क्षति पुर्‍याउनुका साथै बाढीमा परी सुरक्षाकर्मीसहित स्थानीय सर्वसाधारण बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूमा ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन् । 

हालसम्म ४ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग मात्र फेला परेको छ । फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुनसकेको छ भने अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उक्त शव तथा मानवअंग धादिङको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनीटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, नुवाकोट जिल्लाको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोलाको किनारा तथा त्रिशूली नदीको किनारामा फेला परेको थियो । 

ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोशीमा मिसिँदा सो नदीले उग्ररुप लिई रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुर्‍याएको छ । नेपाल–चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध भएको छ भने उक्त क्षेत्रमा विद्युतीय लाइन अवरुद्ध छ । सञ्चारका साधनहरूले समेत काम गर्न छाडेको छ । 

सो क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारणहरू समेत खटिएका छन् । नेपाली ५० जना, चिनियाँ नागरिक १ जना, भारतीय नागरिक ४ जना गरी ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ४ महिला र ५१ पुरुष छन् । २३ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार गरियो भने अन्य व्यक्तिलाई विभिन्न उद्धार सामाग्रीको सहयोगले उद्धार गर्न सफल भएको छ । 

त्यस्तै भोटेकोशी नदीमा आएको बाढीले जोखिममा रहेका घरपरिवारका १ सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विभिन्न निजी कम्पनीको हेलिकोप्टरद्वारा असार २४ र २५ गते उनीलाई सुरक्षित स्थानमा सारिएको हो । 

भोटेकोशीमा आएको बाढीले ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रकलगायत लोडर, एक्स्काभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ ।

भन्सार क्षेत्रमा रहेको ईभी गाडीका चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवक्र्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङमार्गमा समेत क्षति पुर्‍याएको छ । 

बेपत्ता व्यक्तिको खोज, उद्धार तथा पुनर्निर्माणमा समेत जिल्ला समितिको बैठक बसी विभिन्न निर्णयहरू गरी जिल्लाका सम्पूर्ण संयन्त्रलाई सक्रिय बनाउँदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?