अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला र संस्थागत पोसाकमा प्रतिबन्ध

लोकपथ
3.6k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि खादा, माला तथा कुनै संस्था वा समूहको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्तो निर्णय गरिएको जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, ‘यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरू सबैका लागि लागू हुने गरी अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाइने छैन ।’

कार्यालयका अनुसार यस्ता वस्तुहरूले सम्भावित सुरक्षा जोखिम बढाउने, अनावश्यक ढिलाइ गराउने तथा अध्यागमन प्रक्रियामा अवरोध सिर्जना गर्ने भएकाले यो कदम चालिएको हो ।

त्यस्तै, कुनै विशेष समूह, संस्था वा कम्पनीको परिचय झल्किने पोसाक, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य सामग्रीको प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

‘विशेष पहिरनका कारण यात्रुलाई फरक व्यवहार भएको आभास हुने, असमानता देखिन सक्ने वा सुरक्षासम्बन्धी प्रश्न उठ्न सक्ने भएकाले सबै यात्रुलाई समान व्यवहार सुनिश्चित गर्न यो व्यवस्था गरिएको हो,’ सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयले सबै पक्षलाई नयाँ नियमको पालना गर्दै अध्यागमन प्रक्रिया सहज र मर्यादित बनाउन सहयोग गर्न आग्रह गरेको छ। नियम उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?