यी ७ सांसदले पहिल्याउनेछन् ‘कुलिङ पिरियड’ मा भएको बदमासी

लोकपथ
4.8k
Shares

काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयकमा भएको बदमासीबारे छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन गरेको छ ।

आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा दलहरुले उक्त समितिमा बस्ने सदस्यहरुको नाम दिएको छ ।

जसमा नेपाली कांग्रेसबाट २, नेकपा एमालेबाट २, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १–१ जना सदस्य रहनेछन् ।

त्यसमा कांग्रेसबाट जीवन परियार र सुशिला थिङ, नेकपा एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य रहेका छन् । सभामुख देवराज घिमिरेले आजै बसेको प्रतिनिधि सभाबाट उनीहरुको नाम बाचन गरेपछि उक्त समितिले औपचारिकता पाउनेछ ।

गत असार १५ गते प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्था तोडमोड भएको थियो । जहाँ विशिष्ट कर्मचारीहरुले राजीनामा दिएको वा अनिवार्य अवकाश भएपछि २ वर्षसम्म कुनै पनि नियुक्ति लिन नपाउने प्रावधान राख्ने भनिएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको उक्त विधेयक समितिबाट पारित हुँदा भने उक्त व्यवस्था तोडमोड गरियो ।

जहाँ सरकारले चाहेमा नियुक्त गर्न सक्ने किसिमको भाषा प्रयोग गरेपछि सत्ता र प्रतिपक्ष दुवैले छानबिन समितिमा माग गरेका थिए ।

संघीय निजामती विधेयकमा भएको त्रुटीबारे छानबिन गर्न गठिन उक्त समितिलाई २१ दिनको समय दिइएको सभामुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?