निजामती विधेयकमा ‘बिचौलिया’ छिरेको शेखरको आशंका, कारबाही गर्न माग

लोकपथ
602
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवं सांसद डा. शेखर कोइरालाले निजामती सेवा विधेयक परिवर्तन गर्नेहरूलाई कारबाहीको माग गरेका छन् ।

सबैको चासो रहेको निजामती सेवा विधेयक गत आइतबार प्रतिनिधि सभाबाट पारित भयो । तर त्यसमा कुलिङ पिरियडको विषयमा सरकारले जे चाहिरहेको थियो, सोही अनुसार पास गरेपछि भने सत्तारुढ दलकै नेताहरूले आपत्ति जनाइरहेका हुन् ।

डा. कोइरालाले सामाजिक सञ्जालमा लेख्दै सर्वसम्मतिमा संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु सामान्य घटना मान्न नसकिने बताए । ‘सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान हो,’ डा. कोइरालाले भनेका छन् ।

त्यसो त राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर पठाएको विधेयक प्रतिनिधि सभाले समेत सर्वसम्मतिले पारित गरेर राष्ट्रिय सभामा पठाइएको छ । कांग्रेस एमालेबिच नै कुलिङ पिरियड राख्ने कि नराख्ने भन्ने विषयमा विवाद देखिएको थियो । अन्तिममा कुलिङ पिरियड राखेरै विधेयक अघि बढाउने सहमति भए पनि अन्तमा त्यसलाई घुमाउरो बाटोबाट कुलिङ पिरियड हटाउने गरी विधेयक पास भएको तथ्य बाहिरिएपछि चौतर्फी आलोचना समेत भइरहेको छ ।

यता डा. कोइरालाले भने निजामती विधेयकमा छेडखानी गरेर बिचौलियाको प्रभावमा कुलिङ पिरियड हटाउने प्रकरणमा जोडिएकाहरूलाई कारबाहीको माग गरे । ‘यस प्रकरणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाइ, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ,’ उनले भनेका छन्, ‘कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।’

त्यसो त उच्चपदस्थ कर्मचारीहरू अनिवार्य अवकाशमा गएपछि पुनः राजनीतिक नियुक्तिहरू लिने गरेको भन्दै कुलिङ पिरियड राखिएको थियो । त्यसमा मुख्यसचिवसहित उच्च पदस्थ कर्मचारीहरूले सरकारमाथि दबाब बढाएका थिए । २ वर्ष कुलिङ पिरियड राख्न नहुने मागमा रहेका कर्मचारीहरूकै माग बमोजिम विधेयक पास हुन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?