काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोलप्रसाद अर्याल (डीपी अर्याल) र कांग्रेस सांसद रामहरि खतिवडाबिच झोकाझोक चल्यो ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दल रास्वपाले ३३ दिनदेखि संसदमा अवरोध सिर्जना गरिरहेको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद खतिवडाले सुमिरे टूर्स एण्ड ट्राभल्सले भिजिट भिसाको नाममा ठगी गरिरहेको आरोप लगाएका थिए । उक्त ट्राभलमा रास्वपाका उनै सांसद अर्यालको लगानी रहेको छ ।
पर्यटन व्यवसायमा लगानी रहेका सांसद अर्यालमाथि उक्त ट्राभल्सले १० वर्षदेखि भिजिट भिसाका नाममा मान्छेहरुलाई विदेश पठाएर अर्बौँ ठगी गरेको आरोप सांसद खतिवडाले लगाएका थिए ।

‘सुमिरे टुर्स एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो, विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अरबौँ पैसा त्यहाँबाट लिएर संसदमा प्रतिनिधित्व गर्ने र सांसद पद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ । र तिनै मान्छेहरु यदाकदा संसदमा आएर उफ्रिने काम पनि भएको सुन्नमा आएको छ । यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस्,’ खतिवडाले शनिबारको बैठकमा भनेका थिए ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद अर्यालले उक्त ट्राभल आफ्नो रहेको र आफूले बदमासी नगरेको दाबी गरे । साथै आफूले गरिखाएको अरु पार्टीका नेताहरुले देखिनसहेको भन्दै कटाक्ष गरे ।
‘यहाँ काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिँदै हिँड्नुपर्ने ? ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको विरुद्ध हामी आन्दोलनमा छौँ । र, संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोगको माग गरिरहेका छौँ । यस विषयलाई विषयान्तर गर्ने गरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो सभामुख महोदय । राजनीतिलाई पेसा बनाएर वर्षौँदेखि देश दोहन गरिरहनेहरुले आफ्नो पेसा व्यवसाय गरेर खानेहरुमाथि गम्भीर आरोप लगाउन पछि परेनन् । मलाई दया लाग्छ सभामुख महोदय, ०४८-०४९ सालतिर कोही मन्त्रीका पीए बसेर सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाउने काम गरेवापत हनुमान ढोकाको चिसो छिँडीमा रात बिताएकाहरु पनि यही संसदमा सांसद भएर बसिरहेका छन्,’ उनले कटाक्ष गर्दै भनेका थिए ।

त्यसपछि कांग्रेस सांसद खतिवडाले आपत्ति जनाउँदै उनको विरोध जनाए । तर सभामुखले समय नदिएपछि खतिवडाले विरोध जनाउँदा रास्वपा सांसद अर्यालले भने आफूले व्यवसाय गरेर खाएको बताए ।
उक्त ट्राभल आफ्नै रहेको बताउँदै आफूले पठाएका मान्छे कुनै देशमा पुगेर फर्किएर आएको भए त्यसको प्रमाण पेस गर्न समेत चुनौती दिए ।
‘म गर्वका साथ भन्छु सुमिरे टुर्स एण्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन सभामुख महोदय । मेरो समय ठिकै चलेको छ सभामुख महोदय, अरुको घडीको समय बिग्रिएको छ भने म के भनौँ । मेरो कम्पनीमा एकजना मान्छे मात्रै भिजिट भिसामा जापान होइन संसारको कुनै देश गएको छ र हामीले पैसा लिएको छौँ र फर्किएका छैनन् भने म प्रमाण पेस गर्न चुनौती दिन्छु,’ उनले भने ।
पूर्व श्रममन्त्री समेत रहेका सांसद अर्यालले उक्त विषयलाई संसदको रेकर्डबाट हटाउन समेत माग गरे ।
त्यसपछि सभामुखले पालो दिएपछि बोलेका कांग्रेस सांसद रामहरि खतिवडाले आफूहरुले कुनै व्यक्तिलाई किटान गरेर नबोलेको दाबी गरे । साथै ‘चोरको खुट्टा काट भन्दा, खुट्टा हटाइएको’ जस्तो गरेको भन्दै कटाक्ष गरे ।
‘हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठूलो स्वर र डाँकोले संसद थर्काइयो ? म अनुरोध गर्न चाहन्छु, कुनै बेला हामी अदालतबाट निर्दोष प्रमाणित भएर संसदमा प्रतिनिधित्व गरेका छौँ । तर आज दोषी भएर तिनै मान्छेहरु ठूलो स्वरमा यहाँ कराउँदा हाम्रो आपत्ति छ । हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ । छानबिन गरौँ, दोषी छ भने कारबाही गरौँ । निर्दोष छ भने हामी उहाँलाई सफाइ दिन चाहन्छौँ ।’
सांसद खतिवडाले अर्याल श्रम मन्त्री रहेका बेला अवैध रुपमा २०९ वटा मेनपावर कम्पनीहरुलाई स्वीकृती दिएको आरोप समेत लगाए । उनले पनि आफूहरुमाथि आरोप लगाइएको भन्दै अघि बोलेका सांसद अर्यालको भनाइ रेकर्डबाट हटाउन माग गरे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै जोडिएको भन्दै विपक्षी दल रास्वपाले निरन्तर गत जेठ १३ गतेबाट प्रतिनिधि सभामा विरोध जनाइरहेको छ । रास्वपाको विरोधकाबिच सरकारले नै उक्त प्रकरणबारे छानबिन गर्न छानबिन समिति बनाएको छ । पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाइएको तर बैरागी स्वयं विवादित पात्र रहेको भन्दै रास्वपाले उक्त छानबिन समिति समेत अस्वीकार गरेको छ । यता कांग्रेस सांसदहरुले भने भिजिट भिसाका नाममा रास्वपाकै सांसदहरु मुछिएको आरोप लगाउँदै आइरहेका छन् । तर त्यसमा कटाक्ष गर्दै रास्वपाले भने सरकारले गृहमन्त्री जोडिएको प्रकरण ‘डाइभर्ट’ गर्न नयाँ विषयहरु ल्याउने गरेको आरोप लगाइरहेको छ ।
सांसद खतिवडाले ट्राभलले भिजिट भिसाका नाममा अर्बौँ ठगी गरेको आरोप लगाए पनि ट्राभलले भने विभिन्न भिजिट भिसाको प्याकेजहरु बेच्ने गरेको जानकारहरु बताउँछन् । ट्राभलहरुले इच्छुकहरुका लागि विश्वका विभिन्न देशहरुको प्याकेज ल्याउने र भिसा प्रक्रियादेखि घुमघामको प्रबन्ध गर्दै आइरहेको छ ।
त्यसो त सुमिरे टुर्स एण्ड ट्राभल्सले लामो समयदेखि जापान, थाइल्याण्डदेखि विभिन्न देशमा टुर प्याकेजहरु बिक्री गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया