ब्रिटिस गोरखाहरूलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्छ : बाबुराम भट्टराई

लोकपथ
273
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिस गोरखाहरूलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताएका छन् ।  शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताए । नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्ने कुरा राम्रो नभएको बताए । 

हिम्मत र शाहस भए ब्रिटिस गोरखा भर्ती बन्द गर्न आग्रह गरे । नत्र भने आफ्नै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार कसैलाई नरहेको जिकिर गरे । नेपालमा नागरिकताको विषयमा बुझाइको अल्पता रहेको बताए । संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने उनको भनाइ छ ।  

अध्यक्ष भट्टराईले भने, ‘नागरिकताको विषयमा नेपालमा असाध्यै बुझाइको अल्पता छ । हाम्रो गहिराइमा गएर कुनै पनि चिजलाई बुझ्ने, विश्वको पछिल्लो प्रवृत्तिसँग आत्मसाथ गर्ने र त्यसअनुसार आफ्नो पदचाप मिलाउने कुरामा हामी हमेसा चुकेका छौँ । नागरिकता भनेको चिज सबैभन्दा महत्त्वपूर्ण विषय हो । राष्ट्रिय राज्य नै भएनन् भने बेग्लै कुरा । जति बेलासम्म संसारमा राष्ट्रिय राज्य रहन्छन्, तबसम्म प्रत्येक मानिसको नागरिकता हुन्छ । उसले रगतको आधारमा जुन प्राप्त गर्ने अधिकार हुन्छ, त्यो कसैले खोज्न सक्दैन । एलन मस्कको तीन वटा देशको नागरिकता छ । बाउ दक्षिण अफ्रिकाको भएकाले वंशजको आधारमा नागरिकता छ, आमा क्यानडेली भएकाले वंशजको आधारमा नागरिकाता छ । पछि अमेरिकामा गएर बसोबास गरे, त्यहाँ उनको अंगीकृत नागरिकता छ । वंशजको नागरिकता खारेज हुन सक्दैन, उसले स्वेच्छाले छोड्यो भने मात्रै हो भन्ने बहस भयो । तर हामी हाम्रै नागरिकहरूलाई अर्काको सेनामा भर्ती हुन पठाउँछौँ । सुगौली सन्धीको बेलादेखि हो । कि त हामीले पठाउनु भएन, पठाउने, तिनले ल्याएको पैसाले हाम्रो अर्थतन्त्र मौद्रिक करण भएकै तिनीहरूले ल्याएको पैसाले हो । एकातिर हामीले आफ्नो देशको नागरिकलाई पठाउने, कि त पठाउनै हुँदैन थियो । हाम्रो हिम्मत र शाहस छ भने गरौँ त्यस्तो । होइन भने उनीहरू त्यहाँ जाने, त्यत्रो योगदान गर्ने, उनीहरूले प्रकारान्तले नागरिकता खोस्ने कुरा भएको छ । त्यसलाई सच्याऔँ । नत्र भने हाम्रै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार हामीलाई छैन । यो लोकतन्त्र हो । सबैले लडेर ल्याएको । संविधानमै कसैलाई पनि नागरिकताबाट वञ्चित गर्न सकिँदैन भनेर लेखिएको छ ।’ अध्यक्ष भट्टराईले नेपालकै नागरिकको नागरिकता खोस्ने अधिकार कसैलाई नरहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?