अर्थतन्त्र सुधारका प्रयासहरू सकारात्मक छन् तर यतिले मात्रै पुग्दैन : अध्यक्ष ढकाल

लोकपथ
98
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरूको चाहना पूरा गर्न पर्याप्त नरहेको बताएका छन् । 

बिहीबार महासंघको ५९औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले आफू प्रतिकुलतामा अनुकूलता खोज्ने उद्यमी रहेको जिकिर गर्दै देशमै आशा जगाउनका लागि काम गरिरहेको बताए  । 

उनले देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरू सिर्जना गर्न नसकेसम्म निराशालाई आशामा बदल्न नसकिने बताए ।  

रोजगारी प्रदान गर्न सरकारको सीमितता रहेको भन्दै अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको उल्लेख गरे । निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको भए पनि हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि नरहेको उनको भनाइ छ । 

अध्यक्ष ढकालले अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्ने उल्लेख गरे । उनले वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली भएको उल्लेख गर्दै मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु रहेको जिकिर गरे । उनले त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी जरुरी हुने उल्लेख गरे । 

अध्यक्ष ढकालले अहिले अवस्था असहज छ तर सुधार असम्भव नरहेको भन्दै अर्थतन्त्र, विकास र समृद्धिमा राजनितिक दलहरूको साझा धारणा बनाउन सक्नुपर्ने बताए । 

निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जीविकामा प्रतिकुल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु नहुने बताए । अब आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?