अध्यादेश पारित गराउन सांसद किनबेचको खेल !

लोकपथ
1.1k
Shares

काठमाडौं । एक महिना अघि नै जारी गरेको अध्यादेश पारित गर्न सरकारलाई अप्ठ्यारो परिरहेको अवस्थामा अध्यादेश पारित गर्न सांसद किनबेचको खेल भइरहेको विषय संसद्मा उठेको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद प्रभु शाहले सांसद किनबेचको खेल भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समय माग गरेर बोलेका सांसद शाहले लोकतान्त्रिक व्यवस्थामा समेत सांसद किनबेचको खेल भएको भन्दै कटाक्ष गरे ।

उनले सरकारले अध्यादेश पारित गराउनका लागि सरकारले सांसद किनबेचमा लागेको सत्तारुढ दलकै जिम्मेवार नेताले अभिव्यक्ति दिएको बताए । साथै सरकारले यस्ता गम्भीर कुराहरुलाई गम्भीरताका साथ लिन नसकेको समेत आरोप लगाए ।

संसद्को आकस्मिक समयमा सांसद शाहले भने :

‘सम्माननीय सभामुख महोदय, सरकार नै सांसद किनबेचमा लागेको भन्ने कुरा सुन्नमा आएको छ । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउन सरकारले यो काम गरिरहेको भन्ने आरोप लगाएका छन् । अहिलेको २१औँ शताब्दीमा आधुनिक युगमा संसद् किनबेचको कुरा लाजमर्दो छ । सिँगै संसद्को अपमान हुने विषयमा हामी सबै गम्भीर हुन जरुरी रहेको छ । आज सम्मानीत संसद्कै अपमान हुने गरी यस्तो गतिविधि भइरहेको कुरा संप्रेषण भइराख्दा सरकारले जवाफ दिन जरुरी छ । होइन भने एउटा जिम्मेवार सांसदले यसरी भन्न मिल्छ कि मिल्दैन ? मिल्छ भने यसमा कानुन लाग्छ कि लाग्दैन म प्रश्न गर्न चाहान्छु ।’

सरकारले गत माघको दोस्रो साता विभिन्न अध्यादेशहरु जारी गरेको थियो । तर राष्ट्रिय सभामा बहुमत नपुग्दा अध्यादेश पारित गर्न अप्ठ्यारोमा सरकार रहेको छ । सत्तारुढ दल जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशमा सहयोग नगर्ने बताएसँगै सरकार अप्ठ्यारोमा परहेको हो । भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरे अन्य अध्यादेश समेत पारित गराउन आफूहरुले सहयोग नगर्ने अडानबाट जसपा हटेपछि आजको बैठकमा ५ वटा अध्यादेशहरु पेस गरिँदैछ ।

अध्यादेश जारीपछि सुरु हुने संसद्को अधिवेन सुरु भएको ६० दिनमा प्रतिस्थापन विधेयक पारित नभएमा अध्यादेश निष्कृय बन्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?