प्रतिनिधि सभा : भूमिबाहेक ५ अध्यादेश पेस हुँदै, अनिवार्य उपस्थित हुन कांग्रेस-एमालेको ‘ह्वीप’

लोकपथ
196
Shares

काठमाडौं । आज प्रतिनिधि सभामा विभिन्न ५ अध्यादेश प्रस्तुत हुँदैछ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विवादमा रहेको भूमि बाहेकका अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।

भूमिसम्बन्धी अध्यादेशमा सहमति नजुट्दा अन्योलमा परेको सरकारले त्यसबाहेक अन्य ५ वटा अध्यादेश संसद्मा पेस गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१लाई स्वीकृत गरियोस्’ भन्ने अध्यादेश प्रस्तुत गर्नेछन् ।

त्यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, निजिकरण –पहिलो संशोधन) अध्यादेश २०८१’ र ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ गरी ३ अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

त्यस्तै भूमि व्यवस्थ, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् ।

सरकारले अध्यादेश जारी गरेको एक महिनापछि पारितका लागि प्रतिनिधि सभामा पेस गरेको हो । सरकारले जारी गरेको अध्यादेश संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्मा निर्णयार्थ पेस भए ऐनका रुपमा आउनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर यदी सरकारले उक्त अध्यादेश सदनमा पेस गरि प्रतिस्थापन विधेयक पास गरी ऐनका रुपमा ल्याउन नसकेको अध्यादेश निष्कृय बन्नेछ ।

भूमिसम्बन्धी ऐनमा सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) सकारात्मक नबन्दा सरकार अप्ठेरोमा परिरहेको छ । प्रतिनिधि सभामा अध्यादेश पारितका लागि बहुमत पुग्ने भए पनि राष्ट्रिय सभामा जसपा नेपाल बिना बहुमत नपुग्ने अवस्था रहेको छ । जसकारण सरकारले उक्त अध्यादेशलाई बाँकी राखेर अन्य ५ अध्यादेश सदनमा पेस गर्न लागेको हो ।

आज प्रतिनिधि सभामा ती अध्यादेशहरु निर्णयार्थ प्रस्तुत हुने भएसँगै सत्तारुढ दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा उपस्थित हुन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?