तीस वर्षपछि ढोका ढकढक्याउँदै आएकी आमा : अनि परिवारमा खुसीको आँसु बग्यो

लोकपथ
7.9k
Shares

बाजुरा । कल्पना गर्नुहोस्, एउटा आमा, जो घरबाट निस्किएको ३० वर्ष भयो । न कुनै खबर, न सम्पर्क । परिवारले उनको सम्झनामा थुप्रै रातहरू रुँदै बितायो, तर बिस्तारै ती यादहरू पनि धुमिल बन्दै गए । आमा जीवित छन् भन्ने आशा र सपना पनि बिस्तारै हरायो ।

तर करिब एक साता अगाडि एउटा असाधारण खबर आयो, ‘आमा जिउँदै छिन् ।’

हो, आमा अर्थात् शान्ति शाही । घरबाट हराएको ३० वर्षपछि एकाएक जीवित रहेको खबर मात्रै आएन, घर फिर्तीको तयारी भइरहेको खबर पनि आइपुग्यो । त्यसपछि ती आमा मात्रै होइनन्, आमाका आफन्तहरूमा खुसीको आँसु बग्यो ।

हराएको बाटो, भुलिएको नाम

बुढीगंगा नगरपालिका–३, बाजुराकी की शान्ति शाहीको उमेर अहिले ६८ वर्ष भयो । तर उनको जिन्दगी ३० वर्षअघि जहाँ छुट्टिएको थियो, त्यहीँ अल्झिएको छ । माइत जान भन्दै घरबाट हिँडेकी शान्ति न माइत पुगिन्, न घर फर्किइन् ।
मनमा पीडा र मानसिक असन्तुलनले उनी कहाँ, कता पुगिन्, उनलाई पनि थाहा थिएन । भाषा नबुझ्ने, कसैलाई नचिन्ने, सहाराविहीन शान्तिले भारतको पिथौरागढका सडकहरूलाई आफ्नो ओछ्यान बनाइन् । सडक पेटीमा सुत्दा बग्ने आँसु, नचिनेका आँखाहरूबाट टुलुटुलु हेर्ने सहानुभूतिहरू, अनि कहिलेकाहीँ सहनुपर्ने असहनीय अपमान– यी सबै घटनाक्रम शान्तिका साथी बने ।

१२ वर्षको सडक बासपछि आश्रय स्थलसम्मको यात्रा

घरबाट निस्केको १२ वर्षसम्म शान्ति भारत पिथौरागढका विभिन्न सडकहरूमा भौँतारिएर हिँड्ने र सडकमै बास बस्ने गरिन् । त्यसपछि भने भारतीय प्रहरीले शान्तिलाई सडकबाट उद्धार गरी वान स्टप सेन्टर नामक आश्रय स्थलमा पुर्‍यायो । उक्त आश्रय स्थलमा शान्तिले १८ वर्ष बिताइन्, पहिचान र ठेगानाविहीन भएर ।

उनी को हुन्, कहाँकी हुन्, कसैलाई थाहा थिएन । उनको चुपचाप आँखाले कहिलेकाहीँ केही भन्न खोजेजस्तो लाग्थ्यो, तर कुनै शब्द निस्कँदैनथ्यो ।

सामाजिक सञ्जालले चमत्कार

भारत पिथौरागढको एक संस्थामा नेपाली मूलकी महिला लामो समयदेखि पहिचानविहीन अवस्थामा रहेको जानकारी भारतमा रही नेपालीहरूको उद्धारमा सक्रिय संस्था कीन इन्डियाले जानकारी पायो । संस्थाका अध्यक्ष नवीन जोशीले शान्तिको कथा र तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे । अनि चमत्कार भयो ! बाजुराकी उनकी छोरी वर्षाले शान्तिको तस्बिर देखिन् । तस्बिर देख्ने बित्तिकै वर्षालाई थाहा भयो, ती महिला आफ्नै आमा थिइन् ।

तस्बिर देख्ने बित्तिकै वर्षाले सामाजिक सञ्जालमा राखिएको नम्बरमा फोन गरेर भनिन्, उनी मेरी आमा हुन्, अहिले कहाँ छिन् ? त्यसपछि वर्षा र कीन इन्डियाको टोलीबिच संवाद भयो र शान्तिको घर फिर्तीको तयारी भयो ।

आँसु र फूलमालामा सजिएको पुनर्मिलन

कीन इन्डियाका अध्यक्ष नवीन जोशीको पहलमा कानुनी प्रक्रिया पूरा गरी शान्ति देवीलाई ३० वर्षपछि आफ्नै आँगनमा पुर्‍याइयो । बाजुराका गाउँलेहरू फूलमाला र बाजागाजा लिएर शान्तिलाई स्वागत गर्न बाटोमै उभिए ।

जब शान्ति आफ्नो घर पुगिन्, उनका पति चन्द्रबहादुर शाहीका हातहरू काँपिरहेका थिए । शान्तिकी बुहारी रिता शाहीका आँखामा पनि आँसु टिलपिलाएका थिए । त्यसपछि कीन इन्डियाका टोलीसँग रिताले भनिन्, ‘आमा जीवित हुनुहुन्छ र फर्कँदै हुनुहुन्छ भन्ने सुन्दा सपना जस्तै लागिरहेको थियो ।’

शान्ति र परिवारको पुनर्मिलन भएपछि परिवारकै सदस्यले शान्ति र चन्द्रबहादुरको पुनः विवाह गराइदिए ।

शान्तिको मुस्कान, जसले सिङ्गो समाज रुवायो

३० वर्षको पीडादायी यात्रा र एक्लोपना अनि आफैभित्र हराएकी शान्ति । एकाएक परिवारको सम्पर्कमा पुगी पुनर्मिलन हुँदा उनको मुहारमा मुस्कान झल्कियो । मुस्कानसँगै समेटिएको तीन दशकको पीडा त थियो नै त्यो पीडामा मल्हम लागेको थियो परिवारसँग पुनः जोडिएको बन्धन, र जीवनप्रतिको नयाँ आशाले । बाजुरामा भएको उक्त पुनर्मिलनले शान्ति र परिवारको आँखामा मात्रै होइन, गाउँलेहरूका आँखामा पनि आँसु थियो । तर अहिलेको आँसु दुखको थिएन, अविस्मरणीय पुनर्मिलनको खुसीमा निस्किएको आँसु थियो त्यो ।

(कीन इन्डियाका अध्यक्ष नवीन जोशीको सहयोगमा ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?