काठमाडौं । प्रकृति लम्सालका बुबाले आफ्नो छोरीलाई मानसिक टर्चर दिएर आत्महत्या गर्न बाध्य बनाएको बताएका छन् ।
भारतको उडिसास्थित कलिंगा इन्सिच्यूट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको फागुन ४ गते अपरान्ह शंकास्पद मृत्यु भएको थियो ।
घटनाको खबर प्राप्त हुनासाथ त्यहाँ पुगेका प्रकृतिका बुबा सुनिल लम्सालले आफ्नो छोरीमाथि ह्यारेस्मेन्ट र इमोस्नल ब्ल्याकमेलिङ गरेर मर्न बाध्य पारेको बताए ।
‘ह्यारेस्मेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण मेरो छोरीले आत्महत्या गर्न बाध्य भएकी हुन्,’ उनले एसियन न्यूज इन्टरनेशनल (एएनआई)सँग कुरा गर्दै भने ।
घटनाबारे खबर पाएसँगै सुनिल त्यहाँ पुगेका थिए । केआईआईटी विश्वविद्यालयका अधिकारीहरुसँग कुरा भए पनि उनीहरुले आधिकारिक कुनै कुरा नगरेको समेत बताए ।
‘विश्वविद्यायलसँग कुरा भएको छ । त्यहाँका अधिकारीहरुले समन्वय गरिरहेका छन्, तर आधिकारिक रुपमा केही पनि कुरा गरेका छैनन्,’ उनले भने ।
प्रकृतिका भाइ समेत त्यही अध्ययनरत रहेका छन् । उनकै भाइले परिवारमा खबर गरेका थिए, तर उनले मृत्यु भइसकेको कुरा भने बताएका थिएनन् ।
प्रकृतिलाई बारम्बार मानसिक टर्चर दिने र मर्न बाध्य पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय कानुनले आत्महत्या दुरुत्साहनलाई गम्भीर कारबाही हुने उल्लेख गरेको छ । जसअनुसार घटनामा दोषीलाई १० वर्षसम्मको जेल सजाय हुनसक्नेछ ।
प्रहरी प्रशासनले आफूहरुलाई सहयोग गरे पनि विश्वविद्यालयले कुनै सहयोग नगरेको उनले बताए । साथै उनले आफूहरुको न्याय बाहेक अरु कुनै माग नरहेको समेत बताए ।
तपाईँको माग के हो भन्ने एएनआईका पत्रकारको प्रश्नमा उनले भने, ‘हाम्रो माग न्याय मात्रै हो, केवल न्याय ।’ बुटवलकी प्रकृति नेपालमा प्लस टूमा साइन्स अध्ययन गरेपछि थप अध्ययनका लागि भारत गएकी थिइन् । उनी त्यहाँ बी टेक सीएससी तेस्रो वर्षमा अध्ययनरत रहेकी थिइन् ।
घटनापछि कलेज प्रशासनले त्यहाँ रहेका अन्य नेपाली विद्यार्थीहरुलाई समेत दुर्व्यवहार गरेर नेपाल फर्काइरहेको छ । उक्त घटनाबारे सरकारले कुटनीतिक रुपमा कुरा गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया