कांग्रेस सत्तापक्ष हो तर सरकारमा छैन : शेखर कोइराला 

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेस अहिले सरकारमा नरहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर गरे । उनले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको बताए । 

बिस्तारै बिस्तारै थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको उनको आरोप छ । सांसद कोइरालाले सरकारमा नरहेको बताए पनि अहिले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार संघदेखि प्रदेश तहसम्म नै रहेको छ । 

संयन्त्रले सरकार चलाउने कुरा कम्युनिस्टहरू र साम्यवादी देशहरूमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गरे । उनले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए । 

सांसद कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरी ल्याइएको बताए । 

नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने बताए । कुनै पनि हालतमा सरकारले संसदमा पेस गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरुसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने बताए । 

सांसद कोइरालाले देशमा सुशासन, राजनीतिक स्थायित्व दिनका लागि वर्तमान सरकार बनाएपनि सरकारका काम कारबाही घुस दिनेलाई समात्ने र घुस लिनेलाई उन्मुक्ति दिने किसिमको देखिएको आरोप लगाए । उनले सरकारका महान्यायाधिवक्ता रमेश बडालले राज्यले दिएको अधिकारको दुरुपयोग गरेको आरोप लगाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?