काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई सरकारले नोटिसमा राखेको भन्ने अभिव्यक्तिपछि त्यसबारे सबैको चासो बढेको छ ।
बुधबार पार्टीका केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूलाई सरकारले संविधानको विरोध गरेकै आधारमा पक्राउ गर्न लागेको बताए ।
उनको भनाइले राप्रपाका नेताहरु एकाएक तर्सिए । अप्रत्याशित रुपमा अध्यक्षबाट आएको भनाइपछि राप्रपाभित्र तरंग नै फैलियो । तर अध्यक्ष वा अन्य नेतामाथि सरकारले नजर लगाइरहेको छ जस्तो आफूहरुलाई नलागेको राप्रपाका एक केन्द्रीय सदस्यले लोकपथलाई जानकारी दिए । संविधान दिवसको विरोधमा आज राति ‘ब्ल्याकआउट’ गर्न लागेकाले सरकारले नोटिसमा राखेको हुनसक्ने ती नेताको आशंका छ, तर अध्यक्षले थप त्यस विषयमा पार्टीमा छलफल नगरेको समेत उनले बताए ।
बुधबारको कार्यक्रममा लिङ्देनले आफूले सामाजिक सञ्जालबाट मात्रै सरकारले नोटिसमा राखेको थाहा पाएको भन्दै आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिए । त्यस्तै उनले आफू वर्तमान संविधानले परिकल्पना गरेको गणतन्त्र, संघीयता र धर्म निरीपेक्षताको विरोधी रहेको बताए ।
‘अहिले भर्खर यहाँ बसेका बेला एउटा सामाजिक सञ्जालमा देखेँ, भोलि संविधान दिवस छ, संविधान दिवसमा संविधान विरोधी पार्टीका नेताहरुलाई नोटिसमा राखिएको छ र त्यसमा राजेन्द्र लिङ्देन पनि सरकारको नोटिसमा छ भनेर हेरेँ । म यहाँबाट केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहान्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरीपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङ्देन । राजेन्द्र लिङ्देन त्यसको विरोध गर्छ । विपक्षमा छ । सके पक्राउ गरेर देखाउनू,’ उनले भनेका थिए ।
उनको उक्त अभिव्यक्तिपछि धेरैले चासोका साथ हेरेका छन् । आज राप्रपाले राति ८ बजे देशभर संविधान दिवसलाई कालो दिवसको रुपमा एक मिनेट बत्ति निभाएर विरोध गर्न आह्वान गरेको छ । राप्रपाले मात्र होइन अन्य केही मधेशवादी दलहरुले समेत त्यसको विरोध गरिरहेका छन् । यसअघि समेत संविधान दिवसका अवसरमा विरोध हुने गरेको थियो । तर कुनै पनि दलका नेताहरुलाई त्यसकै आधारमा पक्राउ गरिएको भने थिएन ।
सो विषयमा लोकपथले लिङ्देनसँग जिज्ञासा राखेको छ । उनले आफूले सामाजिक सञ्जालमा र केही सञ्चारमाध्ययमा उक्त विषय आएको कारण मात्रै सरकारले नोटिसमा राखेको अभिव्यक्ति दिएको जानकारी दिए । कतैबाट ठुलो सूचनाको आधारमा नभइ सामाजिक सञ्जालमा आएकै आधारमा उक्त अभिव्यक्ति दिएको बताए ।
के आधारमा सरकारले तपाईँलाई पक्राउ गर्न लागेको छ जस्तो लाग्यो ? भन्ने लोकपथको प्रश्नमा लिङ्देनले भने, ‘मैले विभिन्न सामाजिक सञ्जाल र केही मिडियामा समाचार आएको पढेँ, त्यही आधारमा म नोटिसमा रहेछु भन्ने अभिव्यक्ति दिएको हुँ ।’
त्यस्तै आफूहरु खुलेआम संविधान र संविधानले परिकल्पना गरेको गणतन्त्र, धर्म निरीपेक्षता र संघीयताको विरोधी रहेको बताए ।
‘हामी खुलेआम भन्ने पार्टी हौँ । हामी यो संविधान र व्यवस्था नमान्ने पार्टी हौँ भन्ने कुरा सरकारलाई पनि थाहा छ,’ उनले भने ।
त्यस्तै आफूमाथि कुनै सुरक्षा चुनौतीको महसुस नरहेको समेत उनले बताए ।
तपाईँले बोलेकै आधारमा सरकारले पक्राउ गर्छ वा त्यस्ता किसिमका मान्छेहरु परिचालन गरेको छ जस्तो लाग्छ ? भन्ने प्रश्नमा लिङ्देनले भने, ‘त्यस्तो त केही लाग्दैन, तै पनि मिडियामा आएको कुरा भनेको हुँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया