रास्वपा नेताहरुलाई सूर्य थापाको प्रश्न : क्लिन चिट कहाँ छ ? कुन लाइन, कुन प्यारामा छ ?

लोकपथ
245
Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरूले प्रतिवेदनको निष्कर्षलाई अपव्याख्या गर्ने काम गरिरहेको बताउँदै असन्तुष्टि जनाएका छन् । उनले कारबाहीको सिफारिस ‘क्लिन चिट’ हुन्छ भन्दै रास्वपाका नेताहरुलाई प्रश्नसमेत गरेका छन् ।

छानबिन समितिका सभापति थापाले संसदको अंग बनिसकेको प्रतिवेदनको निष्कर्षलाई रास्वपाका नेताहरूले अपव्याख्या गरिरहेको भन्दै कुन लाइन, कुन हरफमा क्लिन चिट लेखिएको छ भन्दै प्रश्नसमेत गरेका छन् ।

प्रतिवेदन संसदलाई बुझाएलगत्तै रास्वपाका सभापति लामिछानेले सहकारीको बचत अपचलनमा आफ्नो भूमिका नदेखिएको भन्दै छानबिन समितिले क्लिन चिट दिएको बताउँदै आएका छन् । उनको यो बोलीमा छानबिन समितिकै सदस्य शिशिर खनाल, उपसभापति स्वर्णिम वाग्ले र सांसद सुमना श्रेष्ठले होमा हो मिलाउँदै आएका छन् । रास्वपाको प्रथम राष्ट्रिय भेलामा बोल्ने क्रममा पनि सभापति लामिछाने र खनालले यी विषयमा आफ्नो समय खर्चेका थिए ।

प्राइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्तामा थापाले भनेका छन्, ‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौँ हामीलाई छान्नुस् भन्ने मानिसले प्रतिवेदनमा लेखेको, चस्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने ?’

उनले प्रश्न गर्दै भनेका छन्, ‘क्लिन चिट कहाँ छ ? कुन लाइन, कुन प्यारामा छ ? कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ ? सफाइ हुन्छ ? कहाँ पढ्नुभएको हो, कुन स्कुलमा हो ? कुन विश्वविद्यालयमा हो ? यो भन्नु प-यो नि त !’

उनले राज्यका तत् तत् निकायलाई अनुसन्धान, कारबाही गर्न सिफारिस गरिसकिएको बताउँदै भनेका छन्, ‘यो बाध्य नपार्नुस् न । समितिले गरेको निर्णय मैले एक्लै गरेको निर्णय होइन । त्यो संसदको अंग हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?