काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेसको वडा भेला सम्पन्न भएको छ ।
मंगलबार तानपा–५ गोलढुंगास्थित नेचर जोय रिसोर्टमा दोस्रो वडा भेला सम्पन्न भएको हो ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा सयौँ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै बानियाँले पार्टीको तल्लो तहको कामकारबाही जनउत्तरदायी हुनुपर्नेमा जोड दिए । साथै दलबाट टिकट लिने, पार्टीको सहयोगबाट निर्वाचन जित्ने तर त्यसपछि भने आफैँ जितेको जस्तो गर्ने प्रवृत्ति हाबीहुने गरेको भन्दै त्यसलाई चिरेर अघि बढ्न आग्रह गरे ।
‘पार्टीको तल्लो तहको कामकारबाही जनउत्तरदायी हुनुपर्छ । तर यहाँ कस्तो प्रवृत्ति देखिन्छ भने दलबाट टिकट लिने, पार्टीैको सहयोगमा निर्वाचन जित्ने तर जनप्रतिनिधि भइसकेपछि भने आफैँ मात्रै जितेको जस्तो व्यवहारबारे पार्टीको तल्लो तहमा गुनासोहरु आउन थालेका छन् । त्यसलाई चिरेर अघि बढ्नुपर्ने देखिन्छ,’ उनले भने ।
त्यस्तै निर्वाचित जनप्रतिनिधिले जनताको अपेक्षा अनुसारको कार्यक्रम ल्याएर काम गर्नुपर्नेमा जोड दिए । साथै काठमाडौं कांग्रेस जनताको घरघरमा पुगेर जनताको भावना अनुसार काम गर्नेगरी संगठन निर्माणमा लागेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य सविन तामाङ, काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का कार्यबाहक सभापति नविन मानन्धर, नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्ट, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तारकेश्वर नगरपालिकाका–३ का वडाध्यक्ष परशुराम अर्याल, नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–४ का इकाइ सभापति हस्तबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–५ का सभापति एवं वडाध्यक्ष शम्भुप्रसाद फुयाँलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया