रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजदेखि, अध्यक्ष लामिछानेले उद्घाटन गर्ने

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को दुई दिने राष्ट्रिय भेला आज मंगलबारबाट सुरु हुँदैछ । काठमाडौंको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् ।

राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ । आजको भेलामा विभिन्न प्रतिवेदन र प्रस्तावमाथि छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिने भएको छ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।

भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ । भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?