काठमाडौं । नेकपा माओवादी केन्द्रले १० वर्षे सशस्त्र द्वन्द्वलाई होच्याउने काम भएको भन्दै आफूहरुको असन्तुष्टी कायम नै रहेको जनाएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठक माओवादीका तर्फबाट बोल्दै पूर्व मन्त्री समेत रहेका सांसद शक्तिबहादुर बस्नेतले ‘हिंसा’ शब्दबारे आफूहरुको असन्तुष्टी रहेको बताए ।
बैठकमा बोल्दै उनले एमाले सांसद योगेश भट्टराईबाट प्रयोग भएको शब्द रेकर्डबाट नहटेसम्म आफूहरुले निरन्तर विरोध जारी राख्ने बताए । साथै आजको बैठकमा भने प्रधानमन्त्रीले सम्बोधन गर्ने कारणले आफूहरुले अवरोध नगरेको पनि स्पष्ट पारे ।
उनले यसअघि भएका हरेक आन्दोलन र क्रान्तिहरुलाई हिंसाको लेप लगाउन नहुने बताए । विभिन्न कालखण्डमा भएका आन्दोलनहरुलाई परिवर्तनको भन्दा हिंसाको नजरबाट हेर्दा त्यसले शान्तिप्रक्रियालाई नै बिथोल्ने बताउँदै एमाले नेतृत्वमा भएको आन्दोलनलाई के भन्ने भन्दै प्रश्न खडा गरे ।
उनले ०२८ सालमा भएको झापा आन्दोलनदेखि ००७ सालमा भएको राणाविरोधी आन्दोलनलाई हिंसात्मक आन्दोलनको रुपमा बुझ्ने कि नबुझ्ने भन्दै प्रश्न गरे ।
उनले भने, ‘जहाँसम्म हिंसाको प्रश्न छ, क्रान्तिलाई हिंसाको रुपमा व्याख्या गर्ने हो भने, झापा आन्दोलनलाई उग्र वामपन्थी भड्काव भन्ने कि हिंसात्मक गतिविधि ? २००७ सालमा भएको आन्दोलनलाई के भन्ने ?’
गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले १० वर्षे माओवादी हिंसा नभएको भए देशले विद्युत उत्पादनमा फड्को मार्ने भन्दै कटाक्ष गरेका थिए । त्यसयता निरन्तर उक्त शब्द असंसदीय रहेको भन्दै रेकर्डबाट हटाउन माग गरिरहेका छन् ।
यसअघिको बैठकमा उक्त शब्द असंसदीय नरहेको भन्दै रेकर्डबाट हटाउनु नपर्ने सभामुख देवराज घिमिरेले संसद्लाई जानकारी गराएसँगै माओवादी सांसदहरु थप आक्रोशित बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया