ओलीको गृहजिल्ला पुगेर प्रचण्डले भने– ‘आगामी निर्वाचन झापाबाटै लड्छु’  

लोकपथ
679
Shares

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी २०८४ सालमा झापाको कुनै क्षेत्रबाट निर्वाचन लड्न सक्ने संकेत गरेका छन् ।

आइतबार झापाको बिर्तामोडमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले झापामा माओवादीप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा झापाबाट नै टक्कर दिने मनस्थिति सिर्जना भएको बताए ।

‘जित सत्य र न्यायको हुन्छ कि, बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु,’ प्रचण्डले भने, ‘तेस्रो कार्यकालमा जनताको पक्षमा सके जति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन्, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन भन्ने अपेक्षा पार्टीको छ ।’
त्यस्तै जनतामा आफूहरुप्रतिको क्रेज बढिरहेको भन्दै अन्य शक्तिहरु आफूहरुलाई फुटाउन लागेको टिप्पणी गरे । त्यस्तै आफ्नो दलमा बाह्य तत्वहरु लागे पनि स्थायी कमिटी बैठकले त्यसलाई चिरेर जानेगरी पार्टी एक ढिक्का भएको बताए ।

‘जनतामाझ हाम्रो क्रेज बढ्न थालेपछि एकथरी प्रतिक्रियावादीहरू हामीलाई फुटाउने प्रयास गरिरहेका छन् । यो कुरा नयाँ होइन, जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया लगायतका समयमा पनि पार्टी फुटाउने प्रयास भएका हुन, हामीले ती सबै प्रयासहरुलाई निरर्थक बनायौँ,’ प्रचण्डले भने– ‘केहिदिन अघि सम्पन्न स्थायी कमिटीको बैठकले फुटवादी मानसिकतालाई सधैको लागि अन्त्य गरेको छ, हामी अहिले एकढिक्का मात्र होइन, बाटो बिराएर अन्यत्र गएका साथीहरू पनि चाँडै एकिकृत हुँदैछौँ ।’

त्यस्तै उनले आगामी निर्वाचनबाट नेकपा माओवादी केन्द्र मुलुककै ठुलो दलका रुपमा उदाउने दाबी गरे। मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्व आएका प्रचण्डले २०६४ सालमा माओवादीलाई मत दिएका मतदाताको जिल्ला तहका नेतालाई मनोविज्ञान बुझ्न निर्देशन दिएका छन् ।

उनले २०६४ मा मत दिने जनतासँग माफी माग्न, विदेश गएका नागरिकको सूती तयार गर्न र २०६४ को निर्वाचनका समयमा नाबालक रहेका जनताको मनोविज्ञान अध्ययन गरेर उनीहरुको अपेक्षा अनुसार अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।

जनयुद्ध गरिरहेका माओवादीलाई नेपाली राजनीतिको मूलधारमा कांग्रेस र एमालेले ल्याएको भनेर गलत प्रचार गरिहेको भन्दै कटाक्ष गरे । ‘उहाँहरुको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा हामी सहमत भएको भए उहाँहरुले ल्याएको भन्न सकिन्थ्यो,’ प्रचण्डले भने, ‘उहाँहरु नै हामीले अघि सारेको मुद्दा गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र, समानुपातिक निर्वाचन प्रणालीमा समाहित भएर आउनु भएको छ । उहाँहरुको अस्तित्व चैँ माओवादीले जोगाइदिएको हो ।’

त्यस्तै उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास गरेर गम्भीर गल्ती गरेको बताए ।

‘दुई तिहाईको सरकारको नेतृत्व गरेको समयमा संविधान च्यात्न खोज्ने ओलीलाई अब सुध्रिए कि, भनेर मैले दोस्रो पटक विश्वास गर्दै उनको समर्थनमा प्रधानमन्त्री बने, तर ओली सुध्रिनु त कता हो कता, उनीजस्तो अनैतिक, बेइमान र भ्रष्टहरूको संरक्षक अरू कोही रहेनछ ।’

कार्यक्रममा नेकपा एमालेका पुराना नेता तथा तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङवा, एमालेका जिल्ला नेता सिता रणपहेली, मोहन योगी, जगत राई लगायत २ सय नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?