काठमाडौं । बेपत्ता परिवार समाज नेपाल र केही पीडित वर्गले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संक्रमणकालीन न्यायको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा गर्नुपर्ने सुधारका काम बारे जानकारी गराएका छन् ।
टीआरसी विधेयकमा केही असन्तुष्टि रहेको भन्दै १४ वटा बुँदासहितको सुधार गर्न पूर्वप्रधानमन्त्री दाहाललाई सुझाइएको हो ।
सोही क्रममा दाहालले पीडितहरुको पीडा, चासोलाई सम्बोधन गर्ने भन्दै पत्रमा रहेका सबै विषयलाई गम्भीर भएर हेर्ने बताए ।
उनले भने, ‘तपाईँहरूले यो पत्र बुझाउनु भएको छ । यसबारेमा राजनीतिक दलहरुसँग बसेर कुरा गर्छु । तपाईँहरूको पीडा, चासोलाई सम्बोधन गर्ने सबै उपाय हुन्छ । त्यो कोसिस हुन्छ । तपाईंहरूले बुझ्नु भएको छ यो विधेयक सबै ठीक त होइन, केही कमी त छ । भोलि सदनमा बोल्ने क्रममा पनि यी विषयहरू सम्बोधन हुने काम हुन्छ ।’
उनले धेरै लामो समयपछि यो विधेयक संसदमा दर्ता भएको उल्लेख गर्दै छिट्टै पारित हुने बताए । उनले भने, ‘हामीले बल्ल बल्ल यो विधेयकलाई यो ठाउँमा ल्याएका छौं, यसमा कतिपय कुरा परिमार्जन गर्न त पर्छ नै, तर पनि यसले धेरै हदसम्म पीडितलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यसलाई सकेसम्म सुधार गरेर लाने छौँ, अब यसलाई धेरै ढिला गर्नु हुँदैन ।’
टीआरसीविरुद्धको रिट सर्वोच्च अदालतमा समेत पुगेको छ । विवादित विषयमा दलहरूबीच सहमति जुटाएर अन्तिम रूप दिई अब बस्ने प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेका बेला विधेयकमा रहेका विभिन्न बुँदाहरू नेपालको संविधान, राष्ट्रिय कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको, पीडकलाई उन्मुक्ति दिने र पीडितलाई झन् पीडित बनाउने हिसाबले अगाडि बढेको भन्दै सर्वोच्चमा रिट पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया