काठमाडौं । गत निर्वाचनपछि नेकपा माओवादी केन्द्र पहिलोपटक प्रतिपक्षी बनेको छ ।
गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्ने सहमतिपछि तत्कालका लागि माओवादी सत्ता बाहिर रहने निश्चित बन्यो । दुवै दलसँग धोकाको श्रृंखला नै चलेपछि एमाले–एमाले मिलानले माओवादी सत्ता बाहिर जाने बाटो तय गर्यो ।
अहिले प्रमुख प्रतिपक्ष बनेको माओवादी केन्द्रले अब सत्ता बाहिरै रहेर अर्को निर्वाचनको तयारी गर्ने बताइरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले अब सरकार नखोज्ने बरु सरकारले आफूहरुलाई खोज्न सक्ने टिप्पणी गरे ।
त्यसो त जबजब अफ्ठयारो पर्छ र सत्ताबाट बाहिरिन्छ माओवादीभित्र जनतामा जाने कुरा जोडतोडका साथ उठ्ने गर्दछ । त्यो मात्र होइन बृहत वाम एकता र कम्युनिष्ट घटकहरुको एकता हुने मानिएको समाजवादी मोर्चा पनि माओवादीको मुुख्य अस्त्र बन्छ ।
अहिले माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । शुक्रबारबाट सुरु भएको स्यायी कमिटी बैठकमा पुनः वाम एकताको कुरा सतहमा आएको हो । अध्यक्ष प्रचण्डले माओवादीसहितको वाम एकता गर्ने कुरा उठाए ।
त्यसो त यसअघि पनि वामपन्थीहरुको एकता नभएको होइन । २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर पछि पार्टी नै एकता भएको एमाले माओवादीको एकता लामो समय टिक्न सकेन । जसको असर नेपालमा कम्युनिष्ट आन्दोलनबारे वकालत गर्ने धेरै नेताहरु नै बिचल्लीमा परे । त्यसअघि पनि फुट्दै जोडिँदै आएको कम्युनिष्टहरुको एकता पुनः हुन्छ भन्नेमा विश्लेषकहरुको शंका छ । यदी एकता भइहालेमा पनि त्यसको स्थायीत्वमा भने विश्लेषकको तहमा मात्र होइन आम वाम कार्यकर्तामा पनि शंकाको भावना जागृत हुनु अस्वभाविक होइन ।
धरमराएको कम्युनिष्ट एकतालाई मुर्झाउन पुनः प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चाको घोषणासम्म गरे । २०८० साल असार ४ गते घोषणा भएको समाजवादी मोर्चा नाममा मात्र सिमित भएको छ । सुरुमा केही दलहरु मिलेर अघि बढ्ने र पछि नेपालमा छरिएर रहेका कम्युनिष्ट घटकहरुलाई एक ठाउँमा ल्याउने प्रचण्ड योजना अहिलेलाई योजनामा मात्रै सिमित छ । नेपालमा अहिलेको अवस्थामा ठुलो कम्युनिष्ट पार्टीका रुपमा रहेको नेकपा एमालेले त्यसमा कुनै चासो देखाएको छैन । यसअघि नै एकता भएर भंग भएपछि कम्युनिष्ट एकतामा कार्यकर्ता पंक्तिमा निराशा छाएको छ ।
शनिबारको बैठकमा प्रचण्डले पुराना कुराहरु बिर्सिएर वामपन्थी एकतामा जोड दिए । उनले बैठकमा भने, ‘एकपल्ट बिग्रियो भनेर सधैंका लागि बिग्रिन होइन । बृहत् वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरु आउँदै गर्दा खासखास नेताहरु अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य छ ।’
प्रचण्डले राखेको उक्त प्रस्तावमाथि आजबाट नेताहरुले आ–आफ्नो धारणा राख्नेछन् ।
निर्वाचनपछि निरन्तर खुम्चिरहेको माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि पार्टीभित्र शु्द्धिकरणको अभियानबारे चर्चा चल्छ ।
कहिले सत्ताकै नेतृत्व गरेर र कहिले सत्ता सारथी बनेर माओवादी केन्द्र सत्तामै रहन्छ । काम गर्ने म्यान्डेट पाएर सत्तामा पुगेका बेला जनताका समस्याबारे जागरुक बन्न नसक्ने तर सत्ताबाट बाहिरिने बित्तिकै शुद्धिकरण अभियान, जनतासँग सम्वाद गर्ने लगायतका विषयले माओवादीको थप आलोचना हुने गरेको छ । तर खुम्चिएका बेला माओवादी केन्द्र मात्र होइन अन्य कम्युनिष्ट घटकहरु पनि वामपन्थी एकता गर्ने कुरा त गर्छन् तर त्यसको ठोस कार्ययोजनासहित अघि बढ्न भने सकिरहेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया