काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य विवेक बानियाँले पदबाट राजीनामा दिएका छन्। उनले वर्तमान अध्यक्ष दुजाङ शेर्पाको कामकारबाहीलाई लिएर असन्तुष्ट रहेको भन्दै राजीनामा दिएका हुन्।
उनी २०८० साल साउन २२ गते नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका थिए। तर १२औँ महाधिवेशन गराउने जिम्मेवारी पाएका अध्यक्षले त्यसको कुनै तयारी नगरेको र आफूखुसी संगठन चलाउन खोजेको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन्।
‘लोकतान्त्रिक संगठनमा रहेर केन्द्रीय अध्यक्षको अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कार्यको भारी बोक्न मेरो नैतिकताले दिँदैन। कार्यकाल सकिँनु केही दिन बाँकी रहँदासम्म मातृ पार्टी नेपाली कांग्रेसले प्रदान गरेको संघको जिम्मेवारी १२औँ कुनै पनि प्रक्रिया प्रारम्भ नभएको र संघका सम्पूर्ण ईकाइहरु थप विवादित हुँदै गएकाले तोकिएको समयभित्र यस कार्यसमिति मार्फत १२औँ अधिवेशन सम्भव नरहेकाले केन्द्रीय सदस्यको भूमिकामा रहिरहनु औचित्यहीन रहेको ठहर गर्दै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य पदबाट राजीनामा दिइएको व्यहोरा जानकारी गराउँदछु,’ उनले राजीनामा पत्रमा भनेका छन्।
नेविसंघमा १२औँ महाधिवेशन गराउने भन्दै जम्बो केन्द्रीय समिति बनाइए पनि हालसम्म महाविधेशनको छाँटकाँट देखिँदैन। प्रत्येक २–२ वर्षमा महाधिवेशन हुनुपर्ने नेविसंघमा २०७२ सालदेखि हालसम्म महाधिवेशन हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया