नुवाकोट महोत्सवमा २ साहित्यिक स्रस्टा सम्मानित

लोकपथ
679
Shares

काठमाडौं । नुवाकोटमा जन्मिएर नेपाली साहित्यमा योगदान पुर्याएका दुई स्रस्टा सम्मानित भएका छन् ।

आठौँ नुवाकोट महोत्सवको अवसरमा मंगलबार नुवाकोटका दुई स्रस्टालाई सम्मान गरिएको हो ।

नेपाली भाषा र साहित्यक क्षेत्रमा योगदानको कदर गर्दै साहित्यकारद्वय राजुमान (आरएम) डङ्गोल र टेकनाथ दाहाललाई सम्मान गरिएको हो ।

डङ्गोल विदुर नगरपालिका–२ शेरा र दाहाल बेलकोटगढी नगरपालिका–८ जिलीङ निवासी हुन् ।

डङ्गोल वर्तमान पुस्ताका प्रखर कवि तथा समालोचक समेत हुन् । राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भइसकेका कवि डंगोल युवामोती पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् । दुई दशकभन्दा लामो समयदेखि कविता साधनामा गर्दै आएका डंगोलका ‘राशीफल हेरिरहेको मान्छे’ र ‘दशगजावारी’ कविता संग्रह प्रकाशित भइसकेको छ ।

यस्तै, पछिल्लो समय दाहालको उपन्यास ‘विवर्तन’ चर्चित छ । महाभारतको पात्र पृथा (कुन्ती) लाई मुख्य पात्र बनाएर लेखिएको हो । विवर्तन उपन्यासमा महाभारतमा नभनिएका सूक्ष्म घटनासमेत रोचक शैलीमा भनिएको छ ।

स्रष्टा डङ्गोल त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् भने दहाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुन् ।

सम्मानग्रहणपछि दहालले आफूलाई गरिएको सम्मान केवल सम्मान मात्र नभएर भोलिका लागि जिम्मेवारी समेत रहेका बताएका छन् । साथै आफू नेपाली भाषा साहित्यको क्षेत्रमा निरन्तर लाग्ने समेत बताए ।

त्यस्तै साहित्यकार डंगोलले आफैँलाई विगत सम्झिन र आगत यात्राबारे सिर्जनात्मक सुझबुझसहित अघि बढ्न यो सम्मानले प्रेरणा मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?