सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

काठमाडौं । सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो ।

यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ । यो किन पनि महत्वपूर्ण छ भने सन् १९९१ मा अर्को अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रको स्मरणमा नै यो दिवस शुरु भएको हो । उक्त सम्मेलन युनेस्कोको आयोजनामा भएको थियो र सम्मेलनको मूल उद्देश्य बहुलवादी र स्वतन्त्र प्रेसको लागि गर्नुपर्ने कामहरू निर्दिष्ट गरेका थिए । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि जारी विन्डहक घोषणापत्र एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज हो जसको सान्दर्भिकता आज पनि उत्तिकै छ ।

प्रेस स्वतन्त्रता दिवस मनाउनुको मुख्य कारण समाचारको खोजी र प्रस्तुतिका लागि आफ्नो जीवनसमेतको पर्वाह नगरी खट्ने सञ्चारकर्मी जसले अनेक प्रकारका दमनको सामना गर्नुपरेको छ, उनीहरूप्रति सम्मान व्यक्त गरेका हुन् । 

पत्रकारहरू राज्य र गैरराज्य पक्ष दुवैतर्फबाट अनेक प्रकारका दमनका शिकार हुने क्रम संसारभर रोकिएको छैन । हरेक वर्ष सयौँ पत्रकार कार्यक्षेत्रमा मारिँदै आएका छन् । घाइते हुने र अनेक शारीरिक यातना पाउने त हजारौँ हुन्छन् । जेल र हिरासतमा बस्नुपर्ने नियति पनि उस्तै छ धम्की, डर र त्रासबाट सताइनेको सङ्ख्या त अनगिन्ती छ । मे ३ उनीहरूको सहास, जाँगर र योगदानको सम्मान व्यक्त गर्ने दिन हो । उनीहरूका दुःखकष्ट सम्झने दिन हो ।

मे ३ को अवसरमा राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्ने दायित्व र कर्तव्य तिम्रो हो भनेर स्मरण गराउने र राज्यलाई थप कटिबद्ध हुन दबाब दिने दिन भएको बताउनुहुन्छ नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल । 

मे ३ का दिन प्रेस स्वतन्त्रता हननका घटनाहरूका तथ्याङ्क र विश्लेषण प्रस्तुत गरेर हरेक देशका आम मानिसलाई यो अवस्थाका बारेमा सचेत र जागरुक बनाउनुपर्ने अर्को मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

नेपालमा पनि यो दिवस सन् १९९५ देखि हरेक वर्ष मनाउँदै आउने गरिएको छ । आज पनि नेपाली प्रेसको अवस्था स्वतन्त्रताका दृष्टिमा जोखिमयुक्त नै देखिन्छ । नेपालमा विगत एक वर्ष (सन् २०१८ मे देखि २०१९ अप्रिलसम्म) मा १ सय ४ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घट्दा १ सय ५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा डेढ गुणाले बढी हो  । अघिल्लो वर्ष यो सङ्ख्या ६६ रहेको थियो । यस वर्षमा १०४ उल्लङघनका घटनामध्ये आक्रमण÷हातपातका ३१, समाचार सङ्कलन रोक र तोडफोडमा १६, दुर्व्यवहार २८, ज्यान मार्ने धम्की १९ र तीन घटना समाचार लेखेकै भरमा पत्रकारविरुद्ध मुद्दा रहेका छन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय नेपाली प्रेस तथा पत्रकारमाथि आक्रमणको शृङ्खला बढ्दै गएकाले नेपाली प्रेस थप चुनौतीपूर्ण बन्दै गएको बताए ।

उनका अनुसार प्रमुख राजनीतिक दलहरु प्रेस स्वतन्त्रताप्रति गम्भीर नबन्दा संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिए पनि व्यवहारमा त्यो देखिएको छैन । “धेरैजसो प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा राजनीतिक दलकै संलग्नता देखिन्छ, त्यसको अन्त्यका लागि हामीले मे ३ कै सन्दर्भ पारेर प्रमुख दलका शीर्ष नेतृत्वलाई ज्ञापनपत्रसमेत बुझाएका छौँ”, उनले भने ।

इन्टरनेटको विस्तार बढेसँगै नेपालमा अनलाइन मिडियाको सङ्ख्या प्रेस काउन्सिलका अनुसार गत चैतसम्ममा एक हजार ६ सय पुगेको छ । तर यो सङ्ख्या हेर्दा अनलाइन मिडियाको सङ्ख्या निकै बढी रहेको अनुमान गर्न सकिन्छ । अनलाइन मिडिया र सामाजिक सञ्जालको पहुँच भएसँगै जनताको अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा उल्लेखनीय सहयोग भए पनि डिजिटल मिडियामाथि बढ्दो नियन्त्रणले भने चुनौतीपूर्ण वातावरण सिर्जना भएको छ ।

स्वतन्त्र प्रेसका लागि वातावरण तयार गर्न अभिव्यक्ति स्वतन्त्रताका सम्पूर्ण सरोकारवाला पक्षबीच सहकार्य बढाउनुपर्ने र नागरिक समाजको पहरेदारी पनि बढ्नुपर्ने, दण्डहीनताको अवस्था अन्त्यका लागि राज्यले शीघ्र पहल गर्नुपर्ने, संविधानले प्रस्तावानामा भनिएबमोजिम पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित कानूनबाट गर्न र व्यवहारमा पनि प्रेस स्वतन्त्रताको प्रत्याभूति दिनुपर्ने मुख्य दायित्व आजको यस दिवसले प्रदान गर्नुपर्ने नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दहाल बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?