अस्थायी शिक्षक संघर्ष समितिद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले राज्यले ३० हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । 

मंगलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ । समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको भद्रकाली (काठमाडौं) को धर्ना कार्यक्रम यथावत राखेको र बैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा ध्यानाकार्षण पत्र बुझाउने कार्यक्रम राखेको जानकारी दिएको छ । 

त्यस्तै, समितिले यही बैशाख १३ गते शुक्रवार काठमाडौंको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म विशाल जुलुस प्रदर्शन गर्ने र आन्दोलनका थप कार्यक्रम बैशाख १३ गते घोषणा गर्नेपनि जनाएको छ । 

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘राज्यको अदुरदर्शीताका कारण विगत लामो समयदेखि देशमा ३० हजार शिक्षकहरु अस्थायी रुपमा काम गर्न बाध्य हुँदै आएको र सोही कालण्डदेखि उनीहरु आफ्नो पेशागत स्थायीहरुको माग राखी आन्दोलन गर्दै आएको सर्वविदितै छ । पछिल्लो समय राज्यले अस्थायी शिक्षकलाई स्थायी गर्न आन्तरिक परीक्षाको व्यवस्था गरेको भएतापनि यो पूर्णतः विभेदित, अवैज्ञानिक र अव्यवहारिक रहेका कारण १३ हजारभन्दा बढि शिक्षकहरु छनौटमा पर्न नसकेको पनि जगजाहेर छ । जो अहिले आन्दोलनरत छन् ।’

शिक्षण एउटा प्राविधिक विषय भएकोले ३ घण्टे परीक्षा प्रणालीले शिक्षकको योग्यताको सही मूल्यांकन हुनै नसक्ने समितिको ठहर छ । 

समितिका सह–संयोजक जीवन सुवालले अस्थायी शिक्षकहरुलाई स्थायी पदपुर्ति नभएसम्म बढिमा ६ महिनाको लागि शिक्षण सेवामा लागेका आफूहरुलाई वर्षौवर्ष काममा लगाएर जीवनको महत्वपूर्ण र उर्जाशील समय खेर फालेको दुःखेसो पोखे ।
 
सुवालले शिक्षा ऐनको नवौं संशोधनअनुसार ७५ प्रतिशत आन्तरिक परीक्षा सञ्चालन गर्ने भनिएतापनि यथार्थमा त्यो नभई २५ देखि ३० प्रतिशतसम्म मात्रै आन्तरिक परीक्षा गराएर राज्यले आफूहरुलाई धोका दिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?