इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षती

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल सोमवार राति आगलागीबाट ध्वस्त भएको छ । धुब्र दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो । 

कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनले विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने जानकारी दिए । आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उनले बताए ।

घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार, राति करीब ९ बजेतिर शुरु भएको आगलागीबाट एक करोड बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

पसल बन्द गरेर घरमा गएको बेला आगलागी भएको थियो । छिमेकीले खबर गरेपछि तुरुन्तै आएको दमकलले सटर फोडेर आगोलाई नियन्त्रणमा लिएको थियो ।

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा लिइएका कारण पछाडिपट्टि रहेको गोदाम सुरक्षित भए पनि पसल ध्वस्त भएकोे स्थानीयवासी छिमेकी दत्तप्रसाद आचार्यले बताए । आगो नियन्त्रणमा आइसकेपछि मात्र पसलका सञ्चालक दाहाल पुगेका थिए । 

नेपालगञ्जमा बितेको ६ महिनायता मात्रै तीन पसलमा आगलागीका घटना भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैश्यले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?