सावधान ! टिफिनको खाजा ‘मन्दविष’ त बन्दै छैन ?

काभ्रेपलान्चोक-  अघिपछि बालबालिकाहरू खेल्ने विद्यालयको मैदान शनिबार आमाहरूले भरिभराउ थियो । छोराछोरीलाई कस्तो खाजा खुवाउनुहुन्छ भनेर खाजा विज्ञहरूले प्रश्न गरिरहेका थिए भने खाजाका प्रकृतिका बारेमा आमाहरू जवाफ दिँदै थिए ।

झट्ट हेर्दा कुनै विषयको परीक्षा सकेर अन्तर्वार्ता सेसन चलिरहेको जस्तो भान हुन्थ्यो । तर, त्यो कुनै अन्तर्वार्ता थिएन । काभ्रे बनेपा–११ स्थित आदर्श विद्या मन्दिर मैदानमा उपस्थित भएका आमाहरूलाई खाजाविज्ञ तथा मनोपरामर्शदाता रमेश पराजुलीले छोराछोरीलाई दिइने खाजाबाट हुने फाइदा र बेफाइदबारे परामर्श र छलफल गर्दै थिए ।
माया गरेर पठाएको टिफिनको खाजाले आफ्ना छोराछोरीको स्वास्थ्यमा प्रतिकूल असर पार्दो रहेछ भनेर सुन्दा आमाहरू चिन्तित देखिन्थे । यस्तो खाजालाई ‘मन्दविष’ का रूपमा चित्रण गरिँदा आमाहरूका मुहार अत्यन्तै मलिन देखिन्थ्यो ।

‘हामीले धेरै कुरा सिक्ने मौका पायाैं, आफूले पकाएको जस्तो खानेकुरा बाहिरबाट किनेर ल्याउँदा हुँदो रहेनछ,’ विमला दाहालले भनिन् ।

‘बिहान छोराछोरीलाई टिफिन बनाउन फुर्सद नहुँदा पसलबाट किनेर ल्याएको खानेकुरा पठाउँदा त्यसले छोराछोरीको स्वास्थ्यमा प्रतिकूल असर हुँदो रहेछ भन्ने थाहा पाएँ,’ सीता घिमिरेले भनिन् ।
अधिकांश बालबालिकाकोे टिफिन बजारबाट किनेर ल्याएको पाएपछि विद्यालय प्रशासनले अभिभावक(विशेषगरी आमा) लाई लक्षित गरी टिफिन सचेतना अभियान सुरु गरेको छ । अभियानमा सहभागी रामदेवी श्रेष्ठले अब भुलेर पनि बच्चाको टिफिनमा हेलचेक्र्याँइ नगर्ने बताइन् । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?