ललिता निवास प्रकरण : शरणार्थी प्रकरणमा १५ लाखमा छुटेका केशव फेरी पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी आज जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका काठमाडौँ असनका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर आज रु १५ लाख धरौटीमा छुटेका थिए, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता देखिएपछि हामीले पक्राउ गरेका छौँ ।”

पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमै राखिएको र सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए । स्रोतका अनुसार ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएको छ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा फरार रहेका भन्दै यही असार २८ गते उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले राजधानीको सानो भर्‍याङबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?