सडक माथिबाट आएको पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

लोकपथ
245
Shares

मुगु । मुगु जिल्ला स्थित गमगढी तारापानी सडक खण्डको फुली गाउँ नजिक सडक माथिबाट आएको पहिरोमा पुरिएर एक जना डोजर चालकको मृत्यु भएको छ ।

लगातारको वर्षाले उक्त सडकको ठाउँ ठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा बिहीबार राति उक्त घटना भएको हो । छायाँनाथ रारा नगरपालिका वडा नं ३ फुली गाउँ नजिक बामधारा भन्ने स्थानमा सडक माथिबाट पहिरो आई डोजर छोपिदा चालकको घटनास्थलमा नै मृत्यु भएको थियो ।

मृतक चालक सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नं ७ का अन्दाजी २४ वर्षका पवन घिमिरे भएको सशस्त्र प्रहरी बल नं ४५ गुल्म मुगुका प्रहरी नायव उपरीक्षक डम्बर रानाले जानकारी दिए ।

पहिरो पन्छाएर सदरमुकाम गमगढी तर्फ आउँदै गरेको डोजर पहिरोमा परिएको खबर पाउना साथ सदरमुकाममा रहेको सशस्त्र प्रहरी बल ,नेपाल प्रहरीको संयुक्त टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो ।

रातभरि पहिरो पन्छाउन प्रहरी लागे पनि सम्भव नभएपछि बिहान अर्को डोजरको प्रयोग गरेपछि मात्र छोपिएको डोजर निकालिएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रमुख सुदशन पन्थीले बताए ।

मृतक चालकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?