काठमाडौं । ऐतिहासिक “नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजुङ–दार्चुला टिमलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको छ । टूरको संयोजन गरेको एनटीपी मल्टिमिडिया ग्रुपले बिहीबार नेपाल टुरिजम बोर्डको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख अधिकृत डा. धनञ्जय रेग्मी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोज पोख्रेल, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का निवर्तमान अध्यक्ष अच्युत गुरागाइँ, नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुनिल शर्मा र टूरका संयोजक विष्णु विवेक विश्वकर्माले संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
पत्रकार र कलाकार सम्मिलित एक टोलीले २०८० जेठ १० देखि ३२ गतेसम्म (२३ दिन लामो) ऐतिहासिक मोटरसाइकल यात्रा गरेको थियो । पर्यटन प्रवर्द्धन, दिगो पर्यटन र पर्यटनमा जलवायु परिवर्तनको असरको अध्ययन गर्ने उद्देश्यले मोटरसाइकल यात्रा गरिएको हो । जेठ १० गते काठमाडौंबाट यात्रा सुरु गरेको टोली मध्येपहाडी लोकमार्ग हुँदै सुदूरपूर्वको ताप्लेजुङ पुगेर इलाम, झापा झरेर पूर्वपश्चिम राजमार्ग हुँदै कञ्चनपुर पुगेको थियो । कैलाली, डडेलधुरा, डोटी, बैतडी हुँदै सुदूरपश्चिमको दार्चुला पुगेको थियो ।
टोली कपिलवस्तु, पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, धादिङ हुँदै काठमाडौं फर्किएको थियो । करिब चार हजार किलोमिटर, ४५ जिल्ला पार गर्दै ऐतिहासिक यात्रा सम्पन्न गरेको थियो ।
एनटीपी मल्टिमिडिया ग्रुपको संयोजन, हान, नाट्टा, एफएनसिसिआई, नेपाल पर्यटन बोर्ड, टान लगायत पर्यटन सम्बद्ध सङ्घ संस्थाहरूको सहकार्यमा टूर सम्पन्न भएको हो । खर्चको व्यवस्थापन भने क्रु मेम्बरहरूले आफैँ गरेका थिए ।
पत्रकार र कलाकार सम्मिलित टोलीले गरेको पहिलो ऐतिहासिक टूर हो । टूरमा विष्णु विवेक विश्वकर्मा, चन्द्र तामाङ, राजाराम पौडेल –रियाज, पवित्रा खड्का, चन्द्रकला कार्की, रितास्मा सुनुवार थिए ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले यस टूरले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । “तपाईँहरूले गर्नुभएको यस ऐतिहासिक यात्राले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने छ । यसरी नै सबैले आ–आफ्नो ठाउँबाट पर्यटन प्रवर्द्धनमा योगदान दिने हो भने नेपालको पर्यटनले गति लिने छ ।” सिइओ रेग्मीले भने ।
युवा पत्रकार र कलाकारहरुद्धारा गरिएको यात्राले आफू निकै उत्साहित भएको उनले बताए । पर्यटन बोर्ड नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले स्थापना भएको हुनाले आन्तरिक पर्यटन प्रवर्द्धनमा काम गर्न नसकिएको उनले बताए । “पर्यटन बोर्डले नेपाललाई विदेशमा चिनाउने हो, आन्तरिक पर्यटनको प्रवर्द्धनमा यसरी नै युवाहरूले गर्ने हो ।” उनले भने ।
पर्यटन बोर्डले काम नगरेको भन्ने व्यवसायीहरूको आरोपलाई खण्डन गरेका छन् । “पर्यटन बोर्डले काम गरेनन् भन्छन् । बोर्डले काम गरेको छ । नचाहिने काम मात्रै नगरेको हो ।” सिइओ रेग्मीले भने ।
पर्यटन मन्त्रालयका उपसचिव सरोज पोख्रेलले पर्यटनको विकास गर्न विभिन्न निकायहरुबीच समन्वय हुन जरुरी रहेको तर पर्याप्त समन्वय गर्न नसकेको बताए ।
नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाइँले नेपालको पर्यटन विकासमा पर्यटन व्यवसायीहरूको छाता सङ्गठनहरूले काम गर्न नसकेको बताए । “पर्यटन व्यवसायीहरूको छाता सङ्गठनहरू धिक्कार छ, कामै गर्दैन ।” उनले भने । त्यसैगरी पर्यटन मन्त्रालयले समय अनुकूल नीति नियम बनाउन नसकेको गुरागाइँले बताए ।
पर्यटन बोर्डका सिनियर म्यानेजर सुनिल शर्माले पर्यटन बोर्डले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताए ।
कार्यक्रममा “पर्यटन प्रवर्द्धन, दिगो पर्यटन र पर्यटनमा जलवायु परिवर्तनको असर” शीर्षकमा प्यानल डिस्कसन पनि गरेको छ । बहसमा वक्ताको रूपमा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुनिल शर्मा, पर्यटन मन्त्रालयका उपसचिव सरोज पोख्रेल, नाट्टा निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ, टूरका संयोजक एवम् पत्रकार विष्णु विवेक, कलाकार एवम् टूरका क्रु मेम्बर पवित्रा खड्का सहभागी थिए । डिस्कसनको मोडरेटर पत्रकार चन्द्र तामाङ थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया