तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो ।
मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट बुधबार पाँच दिनको म्याद थप गरिएको छ ।
विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए ।निजहरूबीच सामाजिक सञ्जालमार्फत चिनजान भएर गत वैशाख १ गते मात्र प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ ।
मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए । उक्त निवेदमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख छ ।
निज मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया