सुब्बाविरुद्ध १४ करोडको ‘अकुत’ मुद्दा, सुन तस्करीमा भ्रष्टाचार गरेको सम्पत्ति परिवारका नाममा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनी रेडियो अपरेटर (सुनको जाँच गर्ने मेसिन चलाउने) हुन् ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० ९२० अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचारवापतको चल अचल सम्पत्ति जफत र १४ करोड ६१ लाख रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको छ । उनी सुन तस्करीको अभियोगमा २०७३ पुस २७ गते निलम्बनमा परेका थिए ।
श्रेष्ठले ३३ किलो सुनमा प्रतिवादी ठहरिएका गुप्तलाल भुसाल र हरिशरण खड्काले दुबईबाट पठाएको सुन स्क्रिनिङ गरेर विमानस्थलबाट बाहिर पठाउने गरेको अभियोग छ । त्यही अभियोगमा रेडियो अपरेटर शाखाका प्रमुख श्रीनारायण यादवलाई पक्राउ गरिएको थियो ।

श्रेष्ठले श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठसहित परिवारका अन्य सदस्यका नाममा अवैध सम्पत्ति लुकाएको दाबी गरिएको छ । अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?