प्रतिबन्धित लागुऔषध सहित पाण्डे र भोलन पक्राउ

काठमाडौं । नागढुंगा नाकामा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

राजधानी मुख्य प्रवेश द्वार नागढुंगा नाकामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी प्रमुख ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले चेक जाँचको गर्ने क्रममा छुटाछुटै यात्रुवाहक बसबाट  लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाइएको छ ।  

सर्लाहीबाट काठमाडौं  तर्फ आउदै गरेको ना.७ख. ७०७३ नम्बरको यात्रु बाहक बसवाट  जिल्ला महोत्तरी महोत्तर घर भएका १९ वर्षीय प्रबिण कुमार पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले पाण्डेको साथवाट झोलामा लुकाई छिपाई ल्याएको  प्रतिबन्धित (नाइट्राभेट १०) लेखिएको ६०० ट्याब्लेट सहित पक्राउ गरेको जानकारी दिएका छन् । 

थानकोट प्रहरी वृत्तका प्रमुख थापका अनुसार बिरगन्जबाट काठमाडौं  तर्फ आउदै गरेको ना.७ ख. ५११३ नम्बरको यात्रु बाहक बसबाट  मकवानपुरका ३० वर्षका बिकाश भोलनलाई  प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको जानकारी दिए । उनको साथबाट  नुफिन ९० एम्पुल, डाईजेल्याब ९० एम्पुल  र फेनरागन ९० एम्पुल गरि २७० एम्पुल फेला पारेको प्रहरीको भनाई छ । 

महानगरीय वृत्त थानकोटले पक्राउ गरिएका पाण्डे र भोलनलाई थप अनुसन्धान पश्चात लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने जनाएको छ। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?