नयाँ शक्तिको यस्तो घोषणा

नयाँ शक्ति नेपाल पार्टीले माघ १५ गतेदेखि जनसंवाद यात्रा सुरू गर्ने भएको छ।

पूर्वको पाँचथरदेखि सुरू हुने यात्रा मध्यपहाडी लोकमार्ग हुँदै एक महिनापछि फागुन १५ गते पश्चिम बैतडीको झुलाघाटसम्म पुग्नेछ।

समावेशी विकासका लागि जनसंवाद यात्रा तय गरेको संयोजक बाबुराम भट्टराईले बताए। 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलनबाट अभियानको घोषणा गरेका भट्टराईले जनसंवादको क्रममा राजनीतिमा लागेका स्थानीय व्यक्ति, जनप्रतिनिधिसँग संवाद गर्ने बताए। 

यस्तो छ कार्यक्रम : 

नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषदको १५औं बैठकद्वारा पारित ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’को सांगठनिक कार्ययोजनाको पूरक कार्यक्रमको रुपमा पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झूलाघाटसम्मको १७७६ किमिको मध्यपहाडी लोकमार्ग ९पुष्पलाल लोकमार्ग०मा ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ गर्ने निर्णय भएको छ।

भौगोलिक विकटता र मानव विकास सूचकांकमा पनि पछाडि परेको यस क्षेत्रलाई अभियानको आधारक्षेत्रको रुपमा स्थापित गर्नुले नै यो कार्यक्रमको महत्व स्पष्ट हुन्छ।

केन्द्रीय संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितका हेडक्वार्टर सदस्यहरुको अगुवाईमा सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेशागत संगठनका नेताहरुसहित यही माघ १५ गते बिहान ८ बजे पाँचथरको चिवाभञ्जाङबाट फागुन १५ मा बैतडीको झुलाघाटमा समापन गरी एक महिनासम्म सञ्चालन हुने यस कार्यक्रमका विषयवस्तु, उद्देश्य र स्वरुप यसप्रकार हुनेछन्–

यात्राका मूल विषय ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ रहेको छ। यात्रा सञ्चालनको क्षेत्र मध्यपहाडी लोकमार्ग अन्तर्गतका मुख्य शहर र बस्तीहरुमा सञ्चालन हुनेछ।

पार्टीले अंगालेको वैकल्पिक विचार, असल राजनीतिलाई जनसमक्ष प्रसार गर्नु र जनताको सुझाव ग्रहण गर्नु, नयाँ शक्ति पार्टी, नेपालद्वारा प्रस्तुत समावेशी समृद्धिको खाका र अवधारणा प्रष्टसँग आमजनतामा पुर्‍याउनु, संघीयता कार्यान्वयनका शिलशिलामा देखापरेका अकर्मण्यता र शिथिलताको अन्त्य गरी संघीयताको पक्षमा दृढतापूर्वक उभिन र त्यसका बारेमा विभिन्न स्थानका जनप्रतिनिधि, स्थानीय तह र आम जनतालाई प्रशिक्षित गर्नु, देशको युवा पंक्तिसँग सिधा सम्बन्ध स्थापित गरी युवा शक्तिको विदेश पलायन रोक्न गम्भीर विमर्श गर्नु अभियानको उद्देश्य हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?