इनर्जी बैंकिङ गर्न नेपाल–भारत सहमत

पोखरा । नेपाल–भारत इनर्जी बैंकिङ गर्न सहमत भएको छ ।

विहीवारदेखि पोखरामा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जोएससी) बैठकले दुई देशबीच इनर्जी बैकिङको सहमतिलाई अनुमोदन गरेको हो । 

गत महिना भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत ऊर्जा आदानप्रदान समितिको १३ औँ बैठकमा भएको सहमति अनुमोदन गरेको हो । उक्त सहमतिलाई पोखरा बैठकले अनुमोदन गरेसँगै कार्यान्वयन गर्ने बाटो खुलेको छ । 

बैठकमा नेपालकातर्फबाट उर्जा सचिव दिनेशकुमार घिमिरे र भारतीय समकक्षी अजयकुमार भल्लाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । 

सहमति अनुसार अब दुई देशबीच बिजुली साटासाट हुनेछ । 

एक देश र अर्को देशबीच चाहिएका बेला उर्जा आयात निर्यात गर्ने प्रणाली नै इनर्जी बैकिङ सिस्टम हो । 

नेपालले बर्खायाममा भारतलाई बिजुली दिनेछ भने हिउँदमा भारतबाट बिजुली आयात गर्नेछ । 

बैठकमा नेपाल र भारतबीचको सीमापार प्रसारण लाइन थप गर्ने विषयमा पनि छलफल भएको छ ।

बैठकले बुधवार भएको दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी)को बैठकमा भएका निर्णयलाई समेत अनुमोदन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?