काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारदेखि अवरुद्ध गरेको संसद् मंगलबार पनि चल्न दिएन । प्रतिपक्षलाई पेलेर भए पनि विधेयक पारित गर्ने सरकारको प्रयास मंगलबार पनि असफल भएको छ ।
पेलेर जाने सरकारको नीतिमा सभामुख कृष्णबहादुर महराले सहयोग गरेको भन्दै सांसदहरूले सदनभित्र नै विरोध गरेका छन् । सरकारले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।
सभामुख महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच बैठक सुरु गरेका थिए । उनले मन्त्री पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस् भनी प्रस्ताव गर्न समय दिएका थिए । सभामुखले समय दिएलगत्तै कांग्रेस सांसदहरूले मन्त्री पोखरेललाई रोस्ट्रममा जान रोकेका थिए । केही बेरको धकेलाधकेलपछि सभामुख महराले बैठक पुनः १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि सभामुख महराले प्रतिपक्षी दलका नेतासँग छलफल गरे पनि उनीहरू बैठक सञ्चालन गर्ने विषयमा सहमत नभएपछि सूचना टाँसेर आजको बैठक स्थगित गरे । आगामी बैठक ११ माघको १ बजे बस्ने जनाइएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया