धनगढी । विश्व रामसार सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र घोडाघोडीको प्रचारप्रसार गर्ने उद्देश्यले कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा घोडाघोडी महोत्सव हुने भएको छ ।
‘कला, संस्कृति, कृषि पर्यटन र व्यापार, समृद्ध घोडाघोडी विकासको अधार’ भन्ने मुल नाराका साथ माघ १४ गते देखि २३ गते सम्म घोडाघोडी महोत्सव २०७५ आयोजना हुन लागेको हो ।
घोडाघोडी उद्योग वाणिज्य संघको आयोजना र घोडाघोडी सहायता केन्द्र तथा घोडाघोडी बहुउद्देश्य युवा मञ्चको सह-आयोजनामा घोडाघोडीको पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजक घोडाघोडी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
मुल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ अध्यक्ष जियालाल आचार्यले घोडाघोडी क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । उनले भने, ‘महोत्सव हेर्न पुग्नेहरुले घोडाघोडी तालको पनि अवलोकन गर्छन ।’ महोत्सवमार्फत ताल क्षेत्रको प्रचारप्रसार गरिने उनको भनाइ छ ।
सन् २००३ मा विश्व रामसार क्षेत्रमा समेटिएको घोडाघोडी ताल नेपालकै सबैभन्दा ठूलो सिमसार क्षेत्र हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया