गण्डकीमा जुट्यो सहमति, सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

लोकपथ
112
Shares

कास्की । गण्डकी प्रदेशमा सरकार गठनका लागि गठबन्धनभित्र सहमति जुटेको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्रीमा आफ्नो दाबी नछाडेपछि सहमति जुट्न सकेको थिएन । तर माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्ने सहमति जुटेको हो ।

त्यससँगै नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् । कांग्रेसले यसअघि नै आफूहरुले मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आइरहेकोमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको समेत दाबी रहेको थियो । तर केन्द्रको निर्देशनपछि माओवादीपछि पछि हटेको पाण्डेको सचिवालयका एक सदस्यले लोकपथलाई जानकारी दिए ।

‘भर्खरै एक खालको सहमति जुटेको छ । थप छलफलमा नेताहरु जुटेका छन् ।’ ती सदस्यले भने, ‘केहीबेरमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्ने जाने तयारी भइरहेको छ ।’

गत वैशाख ९ गते गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६२(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख गुरुङले आज अपरान्ह ४ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका थिए ।

गत निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधि सभामा लड्ने तयारी पाण्डेको रहेको थियो । तर वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन छाडेर सो क्षेत्र रोजेपछि उनले प्रदेशमा लडेका थिए । सोही बेला प्रचण्डले गोरखाबाटै प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने दाबी गर्दै आएकोमा राजनीतिक समिकरण बिग्रिएपछि एमाले नेतृत्वको सरकार बनेको थियो ।

गण्डकीमा नयाँ सरकार गठन गर्न कांग्रेसका २७, माओवादीका सभामुखबाहेक ८ र एक जना स्वतन्त्र सांसद एक ठाउँ छन् ।

संसदबाट विश्वासको मत नपाएपछि गत वैशाख ९ गते एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । केन्द्रमा गठबन्धन फेरिएर माओवादीले चैत १० गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मतसम्बम्धी प्रस्ताव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?