उत्तर पूर्वी अफ्रिकामा अवस्थित सुडान गृहयुद्धले तहसनहस बनेको छ । गृहयुद्धमा अहिलेसम्म ४ सय २७ भन्दा बढीको मृत्यु भइसकेको छ भने ३ हजार ७०० भन्दा बढी घाइते भएका छन् । गृहयुद्ध चर्किदैँ गएपछि सुडानबाट हालसम्म विभिन्न देशका ४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
सेना र अर्धसैनिक बल (आरएसएफ)बीचको लडाईमा कति सर्वसाधारण मारिए भन्ने एकिन तथ्यांक भने आइसकेको छैन । आज हामी यो युद्धमा अहिलेसम्म के-के भयो र यसको पछाडिको कारण के हो भन्ने विषयमा चर्चा गर्नेछौँ ।

किन भयो लडाइँ ?
सुडानमा भएको हिंसात्मक घटनाको जरा तीन वर्षअघि भएको ‘कु’ सँग सम्बन्धित छ। अक्टोबर २०२१ मा संयुक्त नागरिक-सैन्य सरकारको ‘कू’ पछि, सेना र अर्धसैनिक बल (आरएसएफ)बीच तनाव बढेको थियो।
अहिले सेनाको कमाण्ड जनरल अब्देल फतेह अल-बुरहानको हातमा छ र आरएसएफको कमाण्ड हमदान दगालो अर्थात हेमेदतीसँग छ। ‘कु’ हुनुभन्दा पहिले सेना र आरएसएफ मिलेर सार्वभौम परिषद्मार्फत देश चलाइरहेका थिए। विगतमा सेनाले आरएसएफ जवानको तैनाथीको प्रणाली परिवर्तन गरेर नयाँ प्रणाली शुरु गरेको थियो, जसमा आरएसएफ जवानहरूले असन्तुष्टि जनाएका थिए। बिस्तारै यो असन्तुष्टि हिंसामा परिणत भयो र दुईबीच झगडा शुरु भयो।

अहिले कस्तो छ ?
सुडानमा हालसम्म ४५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्वव्यापी दबाबका कारण अहिले आरएसएफ र सेना प्रमुखले ७२ घण्टाका लागि युद्धविरामलाई अनुमोदन गरेका छन् ।

आकाशबाट बमको गोला, सडकमा गोली प्रहार
सुडानको सेना र अर्धसैनिक बल आपसमा लडिरहेका छन् । दुवैसँग पर्याप्त हतियार पनि छ । दुवैले एकअर्कालाई आक्रमण गर्न छाडेका छैनन् । अहिले सुडानको आकाशबाट बमका गोला र सडकमा गोलीको वर्षा भइरहेको छ । यसमा सर्वसाधारणको पनि ज्यान जाने गरेको छ । सरकारी कार्यालय र अस्पताललाई समेत निशाना बनाएको अवस्था छ ।

विमानस्थल कब्जा, उडान रद्द
हिंसाका कारण सुडानको राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ । साउदी एयरलाइन्सले अर्को सूचना नभएसम्मका लागि सुडान जाने र आउने उडानहरू स्थगित गरेको जनाएको छ। शनिबार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका तीन कर्मचारीको मृत्यु भएपछि संयुक्त राष्ट्र संघले अस्थायी रूपमा सबै कामहरू रोकेको छ।

यसैबीच, हिंसा अन्त्य गर्न सुडानमा कूटनीतिक दबाब बढिरहेको छ। अमेरिकी विदेश सचिव, संयुक्त राष्ट्रका महासचिव, युरोपेली संघका विदेश नीति प्रमुख, अरब लिगका प्रमुख र अफ्रिकी संघ आयोगका प्रमुखलगायत शीर्ष कूटनीतिज्ञहरूले दुवै पक्षलाई युद्ध अन्त्य गर्न आह्वान गरेका छन्।
सुडानमा गृहयुद्धका कारण विस्थापित हुन बाध्य स्थानीयवासीले ठूलो चुनौती सामना गरेका छन् । स्थानीय जनता चाड, इजिप्ट र दक्षिण सुडानमा बसाइँ सरिन बाध्य भएका छन् । खानेपानी, औषधि र खाद्यान्नको अभावमा मानिसहरु समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया