काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिहरुले फोहोर रोक्ने चेतावनी दिएका छन् ।
हाल नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थपन हुँदै आइरहेको छ । काठमाडौं महानगरपालिकासहित १८ वटा स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएकोमा त्यहाँका जनप्रतिनिधिहरुले राखेको माग पूरा नभएको भन्दै १५ दिने अल्टिमेटम दिएका छन् ।
बुधबार ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यसहित जनप्रतिनिधिहरुको बैठक बसी विभिन्न ६ बुँदे माग राखेका छन् । ती मागहरु पूरा नभए आफूहरुले फोहोर रोक्ने चेतावनी समेत दिएका छन् ।
त्यसो त यसअघि गत जेठ २६ गते शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र फोहोरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षहरुको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता भएको थियो । ती सम्झौताहरु अक्षरसः कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग रहेको छ । त्यस्तै बन्चरेडाँडाको फोहोरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गिकरण गरी बन्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुवाब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका मागहरु रहेका छन् ।
आफ्ना मागहरु यथाशिघ्र पूरा नभए दुवै स्थानीय तहको कार्यपालिका बैठक बसी फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी समेत दिएका छन् ।
यसअघि लामो समयदेखि फोहोरले त्यहाँका बासिन्दाहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै सरकार र सरोकारवाला निकायहरुबीच सम्झौता भएको थियो । तर सरकारले आफ्ना मागहरु पूरा नगरेको भन्दै त्यस्तो चेतावनी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया