तनहुँ पुगेर प्रचण्डले भने- ‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री पक्का’

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनमा जिताएर पठाए तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईलाई मन्त्री बनाउने बचन दिएका छन् ।

बुधबार चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

अहिले गठबन्धन नेतृत्वको सरकार रहेको र पछि पनि सोही सरकार रहने भन्दै भट्टराईलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो । देशलाई सुशासन, शान्ति र संमृद्धितर्फ लैजाने हामीले नै हो ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ ।’

त्यसैगरी यसअघि मंसिरको निर्वाचनमा आफूले सो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका रामचन्द्र पौडेललाई जिताएर पठाए प्रधानमन्त्री बनाउँने भनेको स्मरण गर्दै पौडेल प्रधानमन्त्री भन्दा ठूलो पदमा पुगेका बताए ।

प्रचण्ड अघि सम्बोधन गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भट्टराईलाई मन्त्री बनाउने बताएका थिए । सो विषयलाई समेत उल्लेख गर्दै प्रधानमन्त्रीले आफू मात्र नभएर गठबन्धनका शीर्ष नेताहरु नै भट्टराईको बारेमा सकारात्मक रहेको बताए ।

‘अघि शेरबहादुरजीले भनिसक्नुभयो, तर अहिले म प्रधानमन्त्री छु, अहिले मन्त्री बनाउने मैले नै हो । म गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु । हामी गठबन्धनका सबै शीर्ष नेताहरू यसमा प्रतिबद्ध छौं ।’ प्रधानमन्त्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?