भद्रपुर । माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ ।
काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो ।
सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २ सय ५९ जनालाई सीमा नाका काँकडभिट्टाबाट फिर्ता पठाइएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए ।
त्यस्तै संस्थाले ९१ जनालाई सीमा नाकाबाट सोधपुछ गरी नेपाल फर्काएको थियो । बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार १ सय १३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले जानकारी दिए ।
वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका एक हजार ८ सय ६९ किशोरीलाई सुरक्षित बसाइसराइबारे अवगत गराइएको छ । कार्यालयमा किशोरी तथा महिला हराएको १ सय ७९ निवेदन परेकामा ५८ जना फेला परेको संस्थाले जनाएको छ ।
प्रहरी प्रशासनसँगको समन्वयमा मानव बेचबिखनका तीन तथा जबर्जस्ती करणीका पाँच मुद्दा दर्ता गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया