शून्यमा झर्‍यो काठमाडौंकोे तापक्रम, मंगलबार र बुधबार वर्षासँगै हिमपात

काठमाडौं।  काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उपत्यकामा सोमबार बिहानको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । आकाश खुला भएकाले चिसो हावा बहेर न्यूनतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चिसो अझै बढ्नेछ ।

न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । केही सातादेखि मुलुकभर चिसो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबारभन्दा १ डिग्री तल झरेको हो । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आइतबार १ डिग्रीमा झरेको तापक्रम यस वर्ष माइनसमा जाने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तापक्रम घटेका कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बन्दै गएको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ ।
‘मंगलबार मध्य तथा पूर्वी पहाडी भेगमा हलुका वर्षा र हिमपातको सम्भावना रहेको छ,’ शान्ति कँडेलले भनिन्, ‘यो क्रम अझ बुधबारसम्मै जारी रहने सम्भावना छ ।’ मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले मुलुकभर चिसो बढेको उनले बताइन् । राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?